• कार्तिक २० २०८३, बिहीबार

संवेदनशील सूचनाको पूर्ण गोपनीयता कायम गर्न महानिरीक्षक केसीको निर्देशन

कार्तिक २० २०८३, बिहीबार

काठमाडौं । प्रहरी महानिरीक्षक डा मनोजकुमार केसीले सङ्गठनको आन्तरिक रणनीति र संवेदनशील सूचनाको पूर्ण गोपनीयता कायम गर्न निर्देशन दिएका छन् ।

प्रहरी प्रधान कार्यालयमा आज पदबहालीपश्चात् आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उहाँले अनधिकृत सूचना चुहावटप्रति शून्य सहनशीलताको नीति अवलम्बन गरिने स्पष्ट पारे । “विधिको शासन पालना गराउने क्रममा सङ्गठनप्रति पूर्ण बफादार रही कुनै पनि प्रलोभन, प्रभाव वा दबाबबाट मुक्त भई नागरिकको हकहित र कानुनी राज्यको पालना सुनिश्चित गर्न उच्च नैतिक चरित्र र व्यावसायिक इमानदारी सबै प्रहरी कर्मचारीबाट प्रदर्शन हुने अपेक्षा लिएको छु,” महानिरीक्षक केसीले भने ।

राष्ट्रसेवक कर्मचारीबाट प्रवाह हुने सेवाको स्तर र आम नागरिकप्रति गरिने व्यवहार अहिलेको ज्वलन्त प्रश्न र सुधारको क्षेत्र रहेको उल्लेख गर्दै उनले साङ्गठनिक र व्यक्तिगत रूपमा आमनागरिकप्रतिको व्यवहारलाई अझ जनउत्तरदायी बनाउन निर्देशन दिए ।

महानिरीक्षक केसीले प्रहरी कर्मचारीको मनोबल उच्च बनाउन उपलब्ध साधनस्रोतको उच्चतम उपयोग गर्दै कल्याणकारी कार्य र प्रहरी कर्मचारीको कार्य वातावरणमा सुधारका प्रयास निरन्तर जारी राखिने बताए ।

गृहमन्त्री सुधन गुरुङबाट दर्ज्यानी चिह्नद्वारा सुशोभित भएपश्चात् प्रहरी प्रधान कार्यालय पुगेका महानिरीक्षक केसीलाई प्रहरी अतिरिक्त महानिरीक्षक, प्रहरी नायब महानिरीक्षक, वरिष्ठ प्रहरी अधिकृतलगायत प्रहरी अधिकृत तथा जवानले स्वागत गरेका थिए ।