• मंसिर ११ २०८१, मंगलवार

सल्यानमा गरियो ‘वर्तमान राष्ट्रिय संकट र अबको निकास’ बिषयमा बृहत अन्तरक्रिया

फाल्गुन १९ २०८०, शनिबार

खलङ्गा । नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिति उत्तर सल्यानले जिल्ला भित्रका पालिकाहरुमा वैचारिक अन्तरक्रिया कार्यक्रम सुरु गरेको छ । पार्टीको केन्द्रीय कार्यक्रम अन्तरगत दार्मा गाउँपालिकाबाट अन्तरक्रिया सुरु गरेको हो ।

सो क्रममा फागुन १८ गते दार्माको केन्द्र फारुला बजारमा ‘वर्तमान राष्ट्रिय संकट र अबको निकास’ बिषयक बृहत अन्तरक्रिया सम्पन्न भएको छ ।

फारुला बजारमा भएको सो अन्तरक्रिया कार्यक्रममा बोल्दै नेपाल कम्युनिस्ट पार्टीका पोलिटव्यूरो सदस्य तथा सल्यानका अगुवा कम्युनिस्ट नेता आधार सीले देश अहिले चारैतिरबाट संकटमा परेर अघि बढ्ने कि पछि हट्ने भन्ने महत्वपूर्ण बिन्दुमा आइपुगेको भन्दै पछि हट्ने छुट कसैलाई नभएको बताए ।

राष्ट्र र जनतालाई हितमा राखेर अघि बढ्नु नै अग्रगामी कुरा हो भन्दै उनले अहिलेको अग्रगामी कुरा भन्नु नै नेपाली बिशेषताको समाजवाद भएको बताए ।

अन्तरक्रिया कार्यक्रममा पार्टीका केन्द्रीय प्रतिनिधि समिति सदस्य तथा जिल्ला इन्चार्ज कमरेड भीमसेन सीले कार्यक्रममा कार्यपत्र प्रस्तुत गरेका थिए । सातखण्डमा विभाजित सो कार्यपत्रमाथि विभिन्न बुद्धिजीवी, राजनीतिकर्मी, विष्लेशक, पत्रकार, समाजसेवी र शिक्षकहरुले टिप्पणी गरेका थिए ।

प्रस्तुत कार्यपत्रमाथि रेडियो तहल्काका संचालक डिल्लीराज रावत, जिल्ला समन्वय समिति सल्यानका उपप्रमुख असवीर बुढाथोकी, नेकपा (माओवादी केन्द्र)का कर्णाली  प्रदेश सदस्य  अनन्त प्रसाद शर्मा, नेपाली कांग्रेस सल्यान जिल्ला कार्य समितिका पूर्वसचिव कांग्रेस नेता रामचन्द्र केसी, नेकपा (एकीकृत समाजवादी) का कर्णाली प्रदेश सदस्य कमरेड दलबहादुर दाहाल, नेपाल राष्ट्रिय मावि ढाकाडामकोटका प्रधानअध्यापक प्रताप चन्द, नेपाली कांग्रेसका नेता रमेश शर्मा लगायतले टिप्पणी गरेका थिए ।

अन्तरक्रिया कार्यक्रम पार्टीका जिल्ला सचिव मदन सीको अध्यक्षता, वरिष्ठ सदस्य मेसी सीको संचालनमा सम्पन्न भएको थियोे । कार्यक्रममा उपस्थितहरुलाई जिल्ला सदस्य मोहन पुरुष सीले स्वागत मन्तव्यबाट स्वागत गरेका थिए ।

कार्यक्रममा अखिल (समाजवादी)का केन्द्रीय सदस्य राजेन्द्र सी र अनिल सी, जनज्योति मावि फारुलाका प्रधानअध्यापक मीनराज वली, फारुला बहुमुखी क्याम्पसका प्रमुख दीपक शर्मा, नेकपा (माओवादी केन्द्र) का दार्मा गाउँपालिका इन्चार्ज कमरेड टोपेन्द्र मल्ल लगायत अतिथिहरु सहभागी थिए ।