• मंसिर ११ २०८१, मंगलवार

सल्यानमा समाजवादी मोर्चा घोषणा, संयाेजकमा छानिए माओवादी केन्द्रका पुन

फाल्गुन १४ २०८०, सोमबार

खलङ्गा । सल्यानमा समाजवादी मोर्चा घोषणा भएको छ । जिल्लामा क्रियाशील समाजवादी मोर्चाका घटकहरु विप्लव नेतृत्वको नेकपा, प्रचण्ड नेतृत्वको माओवादी केन्द्र र माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)ले सो मोर्चा घोषणा गरेका हुन् ।

सदरमुकाम खलंगामा आयोजित एक कार्यक्रममा सो मोर्चाको घोषणा गरिएको नेकपा सल्यानले बताएको छ । मोर्चा घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै नेकपाका पोलिटब्यूरो सदस्य आधार सीले देशको राष्ट्रियता जोगाउन समाजवादी मोर्चा बनेको बताए । दलाल पुँजीवादले देश निल्नै लाग्दा राष्ट्रियतामा खतरा आएपछि समाजवादी मोर्चा बनाउनु परेको उनको धारणा छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै माओवादी केन्द्रका केन्द्रीय सदस्य टेकबहादुर बस्नेतले अबको नेपालको अन्तरविरोध समाजवादी मोर्चाले हल गर्ने बताए । देशमा राजनीतिक रुपमा ठूलो संकट आएकोले त्यसलाई हल गर्ने दायित्व मोर्चाको रहेको उनकोे भनाई छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय सदस्य उदय बोहराले देशका सबै वामपन्थी तथा कम्युनिस्टहरु एकजुट हुने हो भने समाजवाद धेरै टाढा नरहेको बताए । समाजवाद भन्नु नै दलाल पुँजीवादको अन्त्य हुनु हो उनको भनाई थियोे । कार्यक्रममा माओवादी केन्द्रमा केन्द्रीय सल्लाहकार उमाकान्त शर्माले एक्लाएक्लै लडेर सफल हुन गाह्रो हुने भएकोले मिलेर लड्नु पर्ने बताए ।

कार्यक्रममा नेकपाका केन्द्रीय प्रतिनिधि समिति सदस्य तथा उत्तर सल्यान जिल्ला इन्चार्ज भीमसेन सी, पार्टीका दक्षिण जिल्ला सचिव वीरबहादुर सी, पार्टीका केन्द्रीय प्रतिनिधि समिति सदस्य हेमन्ता सी, एकीकृत समाजवादीका केन्द्रीय सल्लाहकार दामोदर शर्मा, प्रेमा अधिकारी लगायतका नेताहरु अथितिको रुपमा उपस्थित थिए ।

चक्रीय प्रणाली अनुसार हाल समाजवादी मोर्चा सल्यानको संयोजकमा माओवादी केन्द्रका जिल्ला अध्यक्ष कृतिबहादुर पुन रहेका छन् । नवगठित मोर्चाका सदस्यहरुमा नेकपाका केन्द्रीय सदस्य कमरेड अनिल सी, एकीकृत समाजवादीका जिल्ला अध्यक्ष हरि केसी, माओवादी केन्द्र कर्णाली प्रदेश सदस्य मानबहादुर मल्ल, एकीकृत समाजवादीका जिल्ला सचिव रमेश गौतम र मोर्चाको सदस्य सचिवमा नेकपा उत्तर सल्यानका सचिव मदन सी रहेका छन् ।

मोर्चा घोषणा कार्यक्रम मोर्चाका जिल्ला संयोजक कृतिबहादुर पुनको अध्यक्षता, सदस्य सचिव मदन सीको संचालनमा सम्पन्न भएको हो । कार्यक्रममा उपस्थितहरुलाई मोर्चाका सदस्य हरि केसीले स्वागत मन्तव्यबाट स्वागत गरेका थिए ।
तस्बिरहरू : अमृतबाबु बुढाथोकी र बुद्धि पुन ।