• आश्विन १२ २०८१, शनिबार

टेरामक्स खरिद प्रक्रिया भ्रष्टाचार प्रकरण,अख्तियारले छानबिन कसरी अघि बढाउला ?

पुष ११ २०८०, बुधबार

काठमाडौं । प्रयोगकर्ताका कल डिटेल रेकर्डजस्ता विवरण संकलन र त्यसको सुरक्षा प्रत्याभूतिमा प्रश्न उठ्नुका साथै उपकरण आयातमा अनियमितता भएको निष्कर्षसहित संसदको सार्वजनिक लेखा समिति छानबिन गर्नुपर्ने निष्कर्षमा पुगेको छ । ययअघि समितिले टेरामक्स खरिद प्रक्रियामा अनियमितताको आश‍ंकासहित छानबिन र अनुसन्धानमा रहेको टेरामक्स प्रविधिबारे सार्वजनिक लेखा समितिले सरोकारवाला निकायसँग तथ्य मागेको थियो ।

संसद्को सार्वजनिक लेखा समितिले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामक्स) खरिद प्रक्रियामा भ्रष्टाचार भएको निष्कर्ष निकालेको हो। समितिको बुधबार बसेको बैठकले टेरामक्स खरिदमा कानुनी प्रक्रिया मिच्नेदेखि राज्यलाई हानी नोक्सानी पुग्ने नियत राखेर कार्य गरेको देखिएको भन्दै अनुसन्धान गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिएको छ। समितिको बुधबार बसेको बैठकले खरिद प्रक्रियामा संलग्नमाथि सुक्ष्म अनुसन्धान गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिएको हो।

लेखा समितिले यो खरिदमा संलग्नहरुमाथि सुक्ष्म विश्लेषण तथा अनुसन्धान गरी राज्यलाई हानी नोक्सानी हुने गरी काम गरेको भेटिए मुद्दा चलाउन अख्तियारलाई निर्देशन दिएको हो । लेखा समितिले ३० दिनभित्र अनुसन्धानको कार्यप्रगति विवरण उपलब्ध गराउन पनि अख्तियारलाई निर्देशन दिएको छ ।

‘हालसम्म सम्पादित कामको विश्लेषण तथा अनुसन्धान गरी निष्कर्षमा पुग्न र राज्यलाई हानी नोक्सानी गरे, गराएको पाइएमा सम्बन्धित पदाधिकारी सबैलाई कानुन बमोजिम अभियोजन प्रक्रियामा लैजान यो वैठक अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देश गर्दछ’, बुधबार लेखा समितिले गरेको निर्णयमा भनिएको छ ।

समिति सभापति ऋषिकेस पोखरेलले टेरामक्सको खरिद र कार्यान्वयन प्रक्रिया यथास्थितिमा राख्न निर्देशन दिँदै यसमाथि सुक्ष्म ढंगले अनुसन्धान गर्न समेत निर्देशन दिएका हुन्। यो अख्तियारको अनुसन्धानमै रहेको छ। समितिले टेरामक्स खरिद प्रक्रिया अनिवार्य ebidding मा गर्नुपर्नेमा सो नगरेको निष्कर्ष निकालेको छ ।

‘हालसम्म सम्पादित कार्य यथास्थितिमा राख्दै यसमाथि सुक्ष्म विश्लेषण र अनुसन्धान गर्नुपर्ने देखिएको छ,’ सभापति पोखरेलले भने, ‘अनुसन्धान गरेर शीघ्र निष्कर्षमा पुगेर प्रत्येक ३० दिनमा समितिलाई जानकारी दिन निर्देश गर्दछु।’ समितिले अनुसन्धानको प्रगति विवरण समेत पेस गर्न भनेको छ।

लेबनानी कम्पनीसँग टेरामक्सको हार्डवेयर र सफ्टवेयर खरिद प्रक्रियामा नेपाल दूरसञ्चार प्राधिकरण र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले अधिकारको दुरुपयोग गरे/नगरेको बारे पनि अनुसन्धान गर्न आयोगलाई निर्देशन दिइएको छ।

यस्तै, खरिद प्रक्रियामा संलग्नले राज्यलाई हानी नोक्सानी हुने गरी सम्झौता गरेको पाइएमा सम्बन्धितलाई हदैसम्मको कारबाही गर्नुपर्ने समितिको माग छ। टेरामक्स खरिद प्रक्रियामा समितिले १५ वटा प्रश्न उठाएको छ। ती प्रश्नको जवाफ नपाइए सम्मलाई यससँग सम्बन्धित सम्पूर्ण प्रक्रियालाई स्थगित गर्दै अनुसन्धान गर्न आयोगलाई निर्देशन दिएको हो। साथै ग्रामिण दुरसञ्चार कोषको रकमबाट टेरामक्स प्रविधि आयातका लागि भुक्तानी भएको देखिएको जनाएको छ । सिद्धान्त त यो काम गर्न मिल्ने हो या होइन भनि लेखा समितिले प्रश्न गरेको छ ।

त्यस्तै अर्को तर्फ सर्वोच्च अदालतले नागरिकको गोपनियताको हक हनन नहुने गरि यस विषयमा कानुन बनाएर मात्रै प्रवेश गर्नु, हाल अपराध अनुसन्धानका लागि जिल्ला अदालतबाट  अनुमति लिने संयन्त्र बनाउनु भनी निर्देशनात्मक आदेश जारी गरेको थियो । तर, कानुन नै नबनी नागरिककै बैयक्तिक गोपनीयताको हक अतिक्रमण गर्ने काम भएको छ ।

नागरिकलाई निगरानीमा राख्न ल्याइएको थियो टेरामक्स
भ्वाइस, एसएमएस र डेटाको ट्राफिक मनिटरिङ, फ्रड डिटेक्सन र सेवा गुणस्तर जाँच गर्न भन्दै सामग्रीसमेत ल्याइसकेको प्राधिकरणले हाल जडानका लागि दूरसञ्चार कम्पनी नेपाल टेलिकम र एनसेलसँग सहकार्य गरेको थियो।  अतिसंवेदनशील मानिने टेरामक्स प्रविधि नियामक निकायका रूपमा रहेको प्राधिकरणले राख्न नहुने तर्क दूरसञ्चार कम्पनीहरूको थियो ।

टेरामक्स यस्तो प्रविधि हो, जसमा सेवा प्रदायक कम्पनीका ग्राहकको सबै किसिमको रेकर्ड, एक व्यक्तिले अर्को व्यक्तिलाई लेखेको म्यासेजको रेकर्ड, कसले कसलाई कल गर्‍यो र के भन्यो भन्ने जस्ता सबै रेकर्ड रहन्छ।

प्राधिकरणले पनि यो टेरामक्स प्रविधि जडान गरेपछि सबै सेवा प्रदायकका सिस्टमको रेकर्डदेखि ती सेवा प्रदायकका ग्राहकका सम्पूर्ण किसिमका रेकर्ड राख्नसक्ने प्रविधि हो। तर, नियामक निकायले ग्राहकका सबै रेकर्ड राख भनेर भन्ने र समय–समयमा रेकर्ड राखेको/नराखेको अनुगमन गर्ने काम गर्नुपर्नेमा आफैंले सबै रेकर्ड राख्न लागेको भन्दै दूरसञ्चार कम्पनी अर्थात सेवा प्रदायकले प्राधिरणको कदमप्रति असहमति जनाएका थिए।

‘टेरामक्स प्रविधि चीन, उत्तर कोरिया, बंगलादेशलगायत केही देशले मात्र चलाइरहेका छन्। त्यस्ता देशले प्रयोग गरिरहेको प्रविधि नेपाल ल्याएर चलाउन थाल्नु आफैंमा शंकाष्पद विषय हो,’ स्रोतले भन्यो, ‘टेरामक्स राखेपछि फोनकल, म्यासेजलगायत सबै कुराको पूर्णजानकारी यो सिस्टम ल्याउनेको हातमा रहने भएकाले अहिलेसम्म नरहेको यो विषयबारे एकपटक सोच्नुपर्नेमा त्यसो गरिएन।’

टेरामक्स प्रविधि भनेको के हो ?
दूरसञ्चारको क्षेत्रमा हुने गैरकानुनी गतिविधि, भ्वाइस तथा डेटा सर्भिसको गुणस्तर मापन, अनुगमन र भ्वाइस, डेटाको कुल भोल्युम परीक्षण गर्ने एक खालको प्रविधि हो । यस प्रविधिले ट्राफिक व्यवस्थापन तथा अनुगमन, नेटवर्किङ मनिटरिङ र अवैध गतिविधिको व्यवस्थापनको काम गर्छ ।

टेरामक्सले अपरेटले घोषणा गरेको अन्तर्राष्ट्रिय तथा राष्ट्रिय भ्वाइस कल र एसएमएसको कुल भोल्युमको परीक्षण गर्छ । अपरेटरले पहिचान गर्न नसकेको कल र एसएमएसलाई पूर्ण रूपमा नियन्त्रण गर्छ ।

यसले युरोपियन टेलिकम्युनिकेसन स्ट्यान्डर्ड इन्स्टिच्युट तथा अन्तर्राष्ट्रिय टेलिकम्युनिकेसन युनियनले निर्धारण गरेअनुसार सेवाको गुणस्तर पनि परीक्षण गर्छ । अपरेटरको नेटवर्क रेगुलर गाइडअनुसार भए–नभएको पनि परीक्षण गर्छ ।

कल बाइपासलगायत टेलिकममा हुने विभिन्न खाले अवैध गतिविधिलाई नियन्त्रण गर्छ । अपरेटर अथवा भिओआइपी कल बाइपासलगायतका अवैध गतिविधिबाट हुने अर्बौंको क्षतिलाई न्यूनीकरण गरी राजस्व वृद्धि गर्न मद्दत गर्छ ।