• श्रावण १० २०८३, आईतवार

अदालतमा मुद्दा विचाराधीन रहेकै अबस्थामा कुलमानले लाइन काटेका उद्योगलाई कतिको बिल पठाए ?

पुष १० २०८०, मंगलवार

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले शुक्रबारदेखि धमाधम उद्योगहरुमा बिजुलीको लाइन काटिरहेको छ । प्राधिकरणका प्रमुख कुलमान घिसिङले प्रमाणबिनै पठाएको बिल उद्योगीहरुले अस्वीकार गरेपछि लाइन काटेका हुन् ।

विद्युत प्राधिकरणले पाँच दर्जन उद्योगहरुले ट्रंक र डेडिकेटेडलाइन प्रयोग गरेको दावी गरेपनि त्यसको प्रमाण (टिओडी मिटरको तथ्यांक) दिन भने सकेको छैन । तर, प्रमाण दिन नसकेका कुलमान धमाधम लाइन काटिरहेका छन् ।

शुक्रबार ४ उद्योगको लाइन काटेको प्राधिकरणले आइतबार ५ उद्योगको लाइन काटेको छ । सोमबार पनि केही उद्योगको लाइन काटिने प्राधिकरणले जनाएको छ । शुक्रबार १ अर्ब बढी बक्यौता रहेका ४ उद्योगको लाइन काटेको प्राधिकरणले आइतबार ५० करोड रुपैयाँ बढी बक्यौता भएका उद्योगको बिजुली काटिएको हो ।

अहिलेसम्म लाइन काटेका ९ उद्योगले ११ अर्ब ७७ करोड १७ लाख रुपैयाँ तिर्नुपर्ने प्राधिकरणको दावी छ । प्राधिकरणका अनुसार सबैभन्दा धेरै शंकर समूहको जगदम्बा स्टिलले ४ अर्ब १४ करोड, एनएमबि बैंकका अध्यक्ष पवन गोल्यानको लगानी रहेको रिलायन्स स्पिनिङ मिल्सको १ अर्ब ९४ करोड, त्रिवेणी ग्रुपको लगानी रहेको घोराही सिमेन्टको १ अर्ब ३६ करोड, पशुपति मुरारकाको लगानी रहेको अर्घाखाँची सिमेन्टको १ अर्ब ३० करोड रुपैयाँ बक्यौता छ।

प्राधिकरणले आइतबार सर्वोत्तम सिमेन्ट,लक्ष्मी स्टिल, अशोक स्टिल, सोनापुर मिनरल्स एण्ड आयल प्रालि र त्रिवेणी स्पिनिङ मिल्सको लाइन काटेको छ।

त्रिवेणी स्पिनिङ मिल्सको ८६ करोड ९० लाख, अशोक स्टिलको ७४ करोड ५० लाख, लक्ष्मी स्टिलको ७४ करोड १० लाख र सर्वोत्तम सिमेन्टले ६८ करोड ९० लाख, ६१ करोड २० लाख रुपैयाँ बक्यौता छ ।

३१ उद्योगको मुद्दा अदालतमा विचाराधीन रहेकै बेला काटियो उद्योगको लाइन

डेडिकेटेड र ट्रंकलाइन विवादका विषयमा अदालतमा मुद्दा विचाराधीन रहेकै अवस्थामा धमाधम लाइन काटिएपछि उद्योगीहरूले अवहेलनाको मुद्दा लिएर पुनः अदालत जाने भएका छन्। अहिले पनि ६१ उद्योगमध्ये ३१ उद्योगहरू नेपाल विद्युत प्राधिकरणले काटेको पत्रका विरुद्ध जिल्ला र उच्च अदालतमा मुद्दामा रहेका छन्।

प्राधिकरणले उद्योगीहरूले विगतको बक्यौता नतिरेको भन्दै ९ वटा उद्योगमा बिजुली आपूर्ति बन्द गराएको छ। अदालतमा रहेको विषयमा निर्णय हुनुअघि नै लाइन काट्नु अदालतको अवहेलना भएको निष्कर्षसहित लाइन काटिएका ९ वटै उद्योगहरू मुद्दामा जाने तयारी गरेका छन्।

घोराही सिमेन्ट, सर्वोत्तम सिमेन्ट, अर्घाखाँची सिमेन्ट र लक्ष्मी स्टिलसहित भैरहवा कोरिडोर क्षेत्रका उद्योगको मुद्दा अहिले पनि उच्च अदालत तुलसिपुरमा विचाराधीन अवस्थामा रहेको छ। वीरगञ्ज हामा स्टिल, साःख स्टिल, जगदम्बा सिमेन्ट, सौर्य सिमेन्ट र अशोक स्टिलसहितको मुद्दा उच्च अदालत जनकपुरमा रहेको छ।

यस्तै बाबा जुटमिलको मोरङ जिल्ला अदालतमा मुद्दा रहेको छ। मारुती सिमेन्टको मोरङ जिल्ला अदालतमा नै मुद्दा रहेको छ। निगाले सिमेन्ट उद्योगको मुद्दा उच्च अदालत धनकुटामा रहेको छ। जगदम्बा इन्टरप्राइजेजको पर्सा जिल्ला अदालतमा मुद्दा रहेको छ।