• आश्विन १२ २०८१, शनिबार

किन संकटमा पर्यो निजी क्षेत्रको वायुसेवा कम्पनी गुण एयरलाइन्स ?

मंसिर १६ २०८०, शनिबार

काठमाडौं । निजी क्षेत्रको वायुसेवा कम्पनी गुण एयरलाइन्स संकटमा परेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले तोकेको हवाई सुरक्षासम्बन्धि शर्त पूरा गर्न नसकेको भन्दै सेवा बन्द गरिदिएपछि संकटमा परेको हो ।

पछिल्लो ९ महिनादेखि गुण एयरलाइन्सको सेवा ठप्प छ । ७ वटा जहाज रहेको गुण एयरलाइन्सको सेवा बन्द हुँदा २०७९ फागुनदेखि कर्मचारीलाई तलब खुवाउन नसकेको गुनासो कर्मचारीले प्राधिकरणमा गरेका छन् । प्राधिकरणले ६ महिनासम्मको लागि गुण एयरको उडान अनुमति (एओसी) निलम्बन गरेको थियो । एओसी निलम्बनमा परेको समय कटेको तीन महिनासम्म पनि पुनः उडान सुरु गर्न नसकेको र अझै उडानको सुनिश्चित आधार गुणले पेश गर्न नसकेको भन्दै प्राधिकरणले एओसी खारेज प्रक्रिया अघि बढाएको छ ।

प्राधिकरणले गुण एयरलाइन्सलाई निलम्बनमा परेको तीन महिनापछि पनि उडान गर्न सक्ने अबस्था नदेखेपछि अन्तिम मौका दिदाँ पनि आफ्नो धारार पेश गर्न नसकेको जनाएको छ। अन्तिम मौका दिदाँ पनि एयरलाइन्स कम्पनीले काम गर्न नसकेमा खारेजी प्रक्रियामा जान सक्नेछ ।

कर्मचारीको दायित्व भुक्तानी गर्न नसकेको, बाँकी बक्यौता बढ्दै गएको र वायुसेवा कम्पनी आर्थिक संकटमा फसेकोले यसले हवाई उडान सुरक्षामा कजोरी गर्ने भन्दै प्राधिकरणले गत ८ फागुन २०७९ मा गुण एयरलाइन्सलाई उडानमा रोक लगाएको थियो।

गुणको वित्तीय अवस्था कमजोर हुँदै जाँदा पाइलट, इन्जिनियर तथा कर्मचारीले नियमित पाउनुपर्ने तलब, अत्यावश्यक तालिम प्रभावित भएको र अत्यावश्यक पाटपुर्जा किन्न नसकेर उड्डयन सुरक्षा प्रभावित हुने भन्दै प्राधिकरणले उडानमै रोक लगाइदिएको थियो । गण एयरलाइन्सले निलम्बनमा परेको तीन महिनासम्म पनि पुनः उडँन सुरु गर्न नसकेको प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूल बताउँछन् । उनका अनुसार एयरलाइन्सले उडँन सुनिश्चितताको आधार पनि पेश गर्न नसकेकाले एओसी खारेजी प्रक्रियामा जान लागेको छ । प्राधिकरणले अन्तिम मौका दिदाँ समेत एयरलाइन्सले उडानको सुनिश्चतता र हवाइ सुरक्षाको विषयमा आफ्नो आधार पेश गर्न सकेको छैन ।

प्राधिकरणको नियमावलीमा ६ महिनासम्म उडान अनुमति निलम्बन गर्न सक्ने व्यवस्था

नागरिक उड्डयन निमायली २०५८ मा प्राधिकरणले ६ महिनासम्मलाई मात्रै उडान अनुमति निलम्बन गर्न सक्ने व्यवस्था छ । एओसी निलम्बनको उक्त व्यवस्थाअनुसार समय सकिएकोले एओसी खारेजीको प्रक्रिया अघि बढाइएको प्राधिकरणको भनाइ छ । एओसी खारेज गर्नुअघि सम्बन्धित वायुसेवालाई सफाइ पेश गर्ने मौका दिनुपर्ने व्यवस्था नियमावली छ । सोही नियमावलीअनुसार प्राधिरकणले गुणलाई अन्तिम मौका दिएको छ ।

एओसी निलम्बनमा परेको ९ महिनासम्म पनि वायुसेवाले पुनः उडान गर्ने नसकेको, कर्मचारीको दायित्व पूरा गर्ने नसकेको, प्राधिकरणलाई बुझाउनुपर्ने बाँकी बक्यौता चुक्ता नगरेको, वायुसेवाले राखेको १ करोड बैंक ग्यारेन्टी जफत गरिएको सहितका कारण गुणको एओसी खारेज हुने सम्भावना अधिक रहेको प्राधिकरणको भनाइ छ ।

गुण एयरलाइन्सले माग्यो अन्तिम मौका

मंसिर २०८० मा एओसी जोगाइदिन र मन्त्रालयबाट इजाजतपत्र नवीकरणसमेत गराउनुपर्ने समय भएकोले सिफारिस दिन माग गरेको छ । गुणले प्राधिकरणलाई पठाएको उक्त पत्रमा गत महिनाबाट प्राधिरकणलाई तिर्न बाँकी रकम मासिक ५० लाख रुपैयाँका दरले तिर्ने प्रतिवद्धता गरेको छ । गुणले पहिलो पटक कात्तिकमा ५० लाख बुझाइसकेको र मंसिरमा पनि ५० लाख रुपैयाँ बुझाउने प्रतिवद्धता गरेको छ । प्राधिरकणलाई गुण एयरलान्सले करीब ५ करोड रुपैयाँ बुझाउन बाँकी छ ।

बैंक ग्यारेन्टीवापत १ करोड रुपैयाँ जम्मा गरेको र बाँकी रकमसमेत तिर्दै जाने प्रतिबद्धतासहित उडान अनुमति पुनः सुरु गर्न गुण एयरलाइन्सका अध्यक्ष राजेन्द्र शाक्यले माग गरेको पत्र प्राधिकरणमा पेस भएको छ । गुण एयारलाइन्सले इजाजत नवीकरण गर्नसमेत प्राधिकरणको बक्यौता रकम चुक्ता गर्नुपर्ने छ । प्राधिरकणले सिफारिश नगरेसम्मम मन्त्रालयबाट इजाजतपत्र नवीकरण हुँदैन भने सिफारिशका लागि प्राधिरकणको बाँकी बक्यौता चुक्ता गर्नुपर्ने हुन्छ ।

७ वर्ष सिम्रिक एयरलाइन्सको नाममा उडेको थियो गुण एयरलाइन्स

९ वर्षअघि घरजग्गा व्यवसायमा समस्या आएपछि गुण ग्रुपको नाममा सञ्चालित गुण एयरलाइन्सको बहुमत शेयर सिम्रिक एयरले किनेको थियो । करिब ७ वर्ष सिम्रिक एयरलाइन्सका नाममा उडेको जहाजलाई गुण ग्रुपका अध्यक्ष राजेन्द्र शाक्यले कोरोना महामारीपछि २०७८ असोजबाट पुरानै नाममा ल्याउन सफल भएका थिए । तर व्यववस्थापनको भद्रगोलले अहिले एयरलाइन्स पुन संकटमा पुगेको छ ।

गुण एयरलाइन्ससँग २ वटा १९ सिट क्षमताको डोर्नियर, ३० सिटको १ र २९ सिट क्षमताका ४ वटा जेटस्ट्रिम, ३० सिटको १ वटा जेटस्ट्रिम गरी ७ वटा जहाज छन् । यीमध्ये ५ वटा जेटस्ट्रिम नामका जहाज करिब ३ वर्ष अगाडिमात्रै यती एयरलाइन्ससँग खरिद गरेको थियो । यो वायुसेवासँग भएको अर्को २ जहाज भने सिम्रिक एयरलाइन्सबाट लिएको थियो ।

गुण एयरलाइन्सले भने ५ वटा जेटस्ट्रिम बिक्री गरेर नयाँ विकल्पको खोजी गर्न खोजेको छ । गुण एयरलाइन्समा २३० जना कर्मचारी छन् । जससध्ये पाइलट र कोपाइलट १०/१० जना गरी २० जना मात्रै छन् । यो वायुसेवाको सञ्चालन खर्च मासिक १ करोड रुपैयाँभन्दा बढी छ ।