• आश्विन १२ २०८१, शनिबार

बीमा कम्पनीविरुद्ध प्राधिकरणमा उजुरीको चाङ बढ्दै, कुन-कुन कम्पनीविरुद्ध छन् उजुरी ?

मंसिर १४ २०८०, बिहीबार

काठमाडौं । नियामक निकाय नेपाल बीमा प्राधिकरणमा बीमा कम्पनीहरुविरुद्धको उजुरी बढ्न थालेको छ ।

भुक्तानीसम्बन्धी विवादलाई लिएर बीमितले बीमा कम्पनीविरुद्ध उजुरी प्रधिकरणमा दिँदै आए पनि समयमा फर्छ्यौट नहुँदा सयौं उजुरी अलपत्र पर्ने गरेका हुन् ।प्राधिकरणका सूचना अधिकारी निर्मल अधिकारी निर्जीवन बीमासम्बन्धी उजुरीको संख्यामा उल्लेख्य वृद्धि भएको बताउँछन् ।

गएको पाँच वर्षमा निर्जीवन बीमातर्फ ४६३ वटा उजुरी पर्दा जीवन बीमातर्फ २११ उजुरी परेका छन् । चालु आर्थिक वर्षको असोज मसान्तसम्म २६० वटा उजुरीमा प्राधिकरणले ५२ वटामात्रै फर्छ्यौट गरेको छ । यो चार महिनामा ६७ वटा नयाँ उजुरी थपिँदा १९२ वटा उजुरी पुरानै थिए, जुन गत वर्ष नै फैसला भइसक्नुपर्ने थियो ।

प्राधिकरणमा उजुरीको संख्या गएको पाँच वर्षदेखि निरन्तर बढ्दो छ । आर्थिक वर्ष २०७५/७६ देखि २०७९/८० सम्म २०६ वटा उजुरी फर्छ्यौट हुन सकेको छैन ।

प्राधिकरणका अनुसार आर्थिक वर्ष २०७५/७६ मा १८७ उजुरी परेकोमा ८५ वटामात्र फर्छ्यौट भए । यस्तै आव २०७६/७७ मा २२८ उजुरी परेकोमा प्राधिकरणले ९१ वटामात्र फर्छ्यौट गर्दा १३५ वटा थाँती रहे । उजुरी फर्छ्यौटमा ढिलासुस्ती गर्दा प्राधिकरणमा बर्सेनि पुराना उजुरीको संख्या बढ्दै गएको हो । आर्थिक बर्ष २०७७/७८ मा २७३ उजुरी परेकोमा ९३ वटामात्र फर्छ्यौट भए ।

आर्थिक वर्ष २०७८/७९ मा भने सुस्ताएको प्राधिकरण फैसला गर्ने काममा सक्रिय बन्न पुग्यो । सो वर्ष ३३८ वटा उजुरी परेकोमा १५२ वटा फर्छ्यौट भए । आर्थिक बर्ष २०७९/८० मा ३४१ वटा उजुरीमध्ये १४९ वटा फर्छ्यौट हुँदा प्राधिकरणले १९२ वटा थाँती राखेको थियो ।

बीमा ऐन २०७९ मा बीमकविरुद्ध परेको उजुरीमा प्राधिकरणले १५ दिनभित्र कारबाही अगाडि बढाइसक्नुपर्ने उल्लेख छ । तर, न्यून संख्यामा पर्ने उजुरीलाई समेत प्राधिकरणको उदासिनताका कारण फस्यौट हुन सकेको देखिदैन।

यी कम्पनीविरुद्ध छन् उजुरी

प्राधिकरणका अनुसार गत वर्षमा जीवन बीमातर्फ हिमालयन लाइफ इन्स्योरेन्सविरुद्ध सबैभन्दा धेरै उजुरी परेको छ । यो कम्पनीविरुद्ध बीमितले प्राधिकरणमा १० वटा उजुरी दर्ता गर्दा नेपाल लाइफ इन्स्योरेन्स, सूर्य ज्योति लाइफ इन्स्योरेन्स र रिलायवल लाइफ इन्स्योरेन्सविरुद्ध ७-७ उजुरी परेका छन् । समग्रमा गत वर्ष जीवन बीमातर्फ १२ कम्पनीविरुद्ध ५१ वटा उजुरी परेका थिए ।

गत वर्ष १३ निर्जीवन बीमा कम्पनीविरुद्ध १०४ वटा उजुरी प्राधिकरणमा दर्ता भएका छन् । युनाइटेड अजोड इन्योरेन्सविरुद्ध सबैभन्दा धेरै उजुरी परेका छन् । यो कम्पनीविरुद्ध १२ वटा उजुरी पर्दा हिमालयन एभरेष्ट इन्स्योरेन्स, नेको इन्स्योरेन्स र शिखर इन्स्योरेन्सविरुद्ध ११-११ वटा उजुरी परेका छन् ।