काठमाडौँ । आज विश्व मुटु दिवस । विश्वमा हरेक वर्ष दुई करोड मानिसको मृत्यु मुटु रोग र सम्बन्धित आर्टरीहरूको कारणले हुने गर्दछ । यो संसारको मृत्युको कारणमध्ये पहिलो हो । विभिन्न जनचेतनामूलक कार्यक्रमहरू गरी विश्व मुटु दिवस मनाइँदै छ ।
मुटु एउटा सानो पम्पजस्तो अङ्ग हाम्रो छातीमा जन्मदेखि मरणसम्म रगतको चाप हरेक धमनी अनि कोशिकाहरूमा पठाइरहन्छ । मुटु हाम्रो सुस्वास्थ्यको पनि मुटु नै हो ।
हामीले मुटु रोग भन्दै गर्दा हृदयाघात बुझ्नु पर्दछ । यो रोग ठूलो भएपछि लाग्ने होइन, यो देखा पर्दा मानिस ठूलो भइसकेको हुन्छ ।
सन् १९९९ मा विश्व मुटु संगठन र विश्व स्वास्थ्य संघको संयुक्त प्रयासमा विश्व मुटु दिवस मनाउने चलन सुरु भएको हो । विश्व मुटु दिवस पहिलो पटक २७ सेप्टेम्बर २००० मा सुरु भएको हो ।
सन् २०११ सम्म यो दिवस हरेक सेप्टेम्बर महिनाको अन्तिम आइतबार मनाउने गरिएको थियो भने त्यसपछि सेप्टेम्बरको २९ तारिखको दिन विश्वभरि यो दिवस मनाउने गरिएको छ ।
मुटु रोग नियन्त्रण गर्न के गर्ने ?
कमसेकम वर्षको एक पटक डाक्टरको सल्लाह लिएर आफ्नो स्वास्थ्यबारे जानकारी लिने गरौँ र कुन कुन कारण तत्वलाई ठिक अवस्थामा राख्नु छ, त्यसमा ध्यान दिने गरौँ ।
चुरोट रक्सीको सेवन नगरौं, रक्तचाप मधुमेह र रगतमा हुने चिल्लो पदार्थ नियन्त्रण गरेर राखौं, तौल बढ्न नदिन व्यायाम, ध्यान योग अभ्यास गर्ने गरौँ, अनावश्यक तनाव लिने, लोभ लालचमा नफसौं, फलफूल खाने बानी बसालौं । आफ्नो मुटु स्वस्थ राखौं ।