• असार ४ २०८२, बुधबार

‘रिगल’ आममाफी प्रकरणले राष्ट्रपति संस्थालाई आलोचित बनायो : विश्वप्रकाश शर्मा

आश्विन ८ २०८०, सोमबार

काठमाडौं । कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले सरकारको पछिल्लो एक निणर्यले राष्ट्रपति संस्थालाई आलोचित बनाएको बताएका छन् ।

सोमबार केन्द्रीय समिति बैठकमा धारणा राख्दै शर्माले सरकारले सिफारिस गरेको आममाफी सूचीका कुरा उठाउँदै त्यसले राष्ट्रपति संस्थाकै आलोचना भएको बताए । बाँकेका योगराज ढकाललाई सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले संविधान दिवसमा आममाफी दिएका थिए ।

चेतन मानन्धरको हत्या अभियोगमा सर्वस्वसहित जन्मकैद सजाय पाएका नेपालगन्जका रिगल भनिने योगराज ढकाललाई संविधान दिवसको अवसर पारेर माफी दिइएको थियो । ढकाल तरूण दलका नेतासमेत हुन् । ढकालको नाम नलिई शर्माले सरकारको आममाफी निणर्यले राष्ट्रपति संस्था आलोचित भएको केन्द्रीय समितिमा बताए।

‘सरकारको कार्यवाहक प्रधानमन्त्री यहाँ हुनुहुन्छ । कानुन मन्त्री हुनुहुन्छ । अरू मन्त्रीजीहरू पनि हुनुहुन्छ । म के ध्यानाकर्षण गराउन चाहन्छु भने पुराना व्यवस्थाको प्रतिनिधि जाँदै गर्दा निकै हल्लाखल्ला माहौल बनाउन खोजेको प्रयत्न एकातिर र अर्कोतर्फ राष्ट्रपति संस्थालाई आलोचना गर्ने खालका हाम्रा गतिविधि देखिए,’ उनले भने, ‘राष्ट्रपति संस्थालाई आलोचनामा आउने कर्म सरकारको पछिल्लो एउटा निणर्यले भएको छ- आममाफीको सूची । यसमा सही नै भएको छ भन्ने देखिँदैन ।’

सरकारको कामले गर्दा राष्ट्रपति संस्थालाई आलोचित गरेमा मानिसमा रहेको वितृष्णा बढाएर जाने भएकोले सरकार र पार्टीले यसतर्फ ध्यान दिनुपर्ने शर्माले बताए ।