• असार ४ २०८२, बुधबार

पेशा छाडेपछि मात्रै शिक्षकलाई राजनीतिमा आउन दिनुपर्छ : गगन थापा

आश्विन ८ २०८०, सोमबार

काठमाडौं । कांग्रेसका महामन्त्री गगनकुमार थापाले शिक्षकलाई पेसा छोडेको दिनमात्रै पार्टीमा आउने ढोका खोल्नुपर्ने बताएका छन् । सोमबार पार्टी कार्यालय सानेपामा आयोजित केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै उनले कानुनले नै बन्देज गरेपछि शिक्षक र राजनीतिको विषयमा पार्टी प्रष्ट हुनुपर्ने बताए । महामन्त्री थापाले आउने महासमिति बैठकमा यस विषयमा प्रष्ट पार्नुपर्ने बताए ।

‘शिक्षक र राजनीतिको विषयमा अब हामी प्रस्ट हुनुपर्छ। कानुनले नै शिक्षकहरूले राजनीति गर्न पाउँदैन भनिसकेपछि उनीहरूले पेसा छाडेको दिनमात्रै पार्टीले ढोका खोलिदिनुपर्छ। महासमिति बैठकले यस विषयमा निणर्य गर्नुपर्छ,’ उनले भने ।
उनले लोकतान्त्रिक शिक्षक संघका आबद्ध शिक्षकहरूले उदाहरणीय विद्यालय सञ्चालन गरेको उदाहरणसमेत दिए । ’राजनीतिमा लागेर पनि शिक्षकहरूले उदाहरणीय विद्यालय सञ्चालन गरेको हाम्रै अध्ययनले देखाउँछ । तर राजनीतिक गर्ने कुरामा अब शिक्षकहरूले पनि सही निणर्य गर्न जरुरी छ,’ उनले थपे । उनले शिक्षक पेसा आबद्ध भएर आर्जन गरेका कुराले पेसा छाडेपछि पार्टीसँग जोड्न सकिने बताए।

उनले कर्मचारीको विषयमा पनि कांग्रेस प्रस्ट हुनुपर्ने बताए । महामन्त्री थापाले शिक्षकलाई खुसी बनाएमात्रै शिक्षा गुणस्तरीय हुने बताए । शिक्षक आन्दोलनको स्मरण गर्दै उनले सरकारसँग भएको सहमतिलाई कांग्रेसले अनुशरण गर्ने बताए । उनले संसदमा दर्ता भएको शिक्षा विधेयक संशोधन हुने बताए ।

‘बहुप्रतिक्षित शिक्षा विधेयक संसदमा दर्ता भएको छ । खुसीको कुरा हो । संसदमा दर्ता भएपछि अवश्य संशोधन हुन्छ । मैले आफैले ७०-८० वटा संशोधन भेटाएको छु,’ उनले भने ।