• असार ४ २०८२, बुधबार

सन्दीप लामिछानेविरुद्धको मुद्दा किन भयो स्थगित ?

आश्विन ७ २०८०, आईतवार

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछाने विरुद्धको जबरजस्ती करणीको मुद्दा फेरि पनि स्थगितमा परेको छ । न्यायाधीश अभावका कारण सन्दीपको मुद्दा रहेको फाँटको गोला कुनै पनि न्यायाधीशले नतानेपछि मुद्दा स्थगितमा परेको हो ।

४३ न्यायाधीशको दरबन्दी स्वीकृत भई ३५ न्यायाधीशको कोटा रहेको काठमाडौं जिल्ला अदालतमा आइतबार १८ न्यायाधीश मात्रै उपस्थित रहेका थिए । सन्दीपको मुद्दाको मिसिल रहेको फाँट नम्बर २८ को गोला कुनै पनि न्यायाधीशले नतानेपछि आइतबार फेरि स्थगितमा परेको हो ।

यसअघि गत भदौ २१ गते न्यायाधीश शकुन्तला कार्कीको इजलासले पीडित किशोरी र उनको परिवार बसाइँसराई गरी गएको काठमाडौँको एक स्थानीय तहबाट बसाइसराई गर्दा पेश गरिएको कागजात माग गरेको थियो । आमाको उमेरमा विवाद देखिएपछि त्यसलाई पुष्टि गर्न आमाको जन्म मिति यकिन हुने गरी कागजात समेत माग गरेको थियो । स्थानीय तहबाट कागजात आएपछि असोज १ गतेका लागि अन्तिम सुनुवाइ भन्दै पेशी तोकिएको थियो ।

२०७९ कात्तिक १४ गते काठमाडौँ जिल्ला अदालतमा दर्ता भएको लामिछानेविरुद्धको जबरजस्ती करणी मुद्दा हालसम्म २७ पटक पेसीमा चढिसकेको छ । सुरुमा काठमाडौँ जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएकामा उच्च अदालत पाटनले लामिछानेलाई सशर्त रिहा गरेको थियो । तर विदेश जान नपाउने गरी बन्देज लगाइदिएपछि लामिछानेले सर्वोच्च अदालतमा निवेदन दिई विदेश जाने अनुमति माग गरेका थिए ।