• असार ३ २०८२, मंगलवार

मधेसका मुद्धा बारे बुझेर मात्र धारणा सार्वजनिक गर्छौं : रास्वपा

आश्विन ५ २०८०, शुक्रबार

वीरगन्ज । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद अर्यालले मधेस र मधेसका मुद्दा बारे आफ्नो पार्टी अहिले पनि बुझ्ने क्रममै रहेको बताएका छन् ।

वीरगन्जमा शुक्रबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा उपसभापति अर्यालले मधेस र मधेसका मुद्दा बुझेपछि मात्रै मधेसबारे पार्टीको धारणा स्पष्ट पारिने बताए । उनले भने,’मधेसले के चाहेको छ, मधेसका मुद्दाहरू के के हुन्, यसबारेमा पार्टीले बुझ्ने काम गरिरहेको छ ।’

मधेसलाई राम्रोसँग बुझिसकेपछि मात्रै मधेसका मुद्दा सम्बोधनका लागि काम गर्न सकिने उनले बताए । अर्यालले पुराना वा ठूला भनिएका राजनीतिक दलले अहिलेसम्म मधेसलाई बुझ्नै नसकेको रास्वपाको निष्कर्ष रहेको पनि बताए । उनले भने,’त्यही कारणले उनीहरूले मधेसलाई माया दिन सकेका छैनन् । मधेसका मुद्दा सम्बोधन गर्न सकेका छैनन् ।

अहिले मधेसका ८ वटै जिल्लामा रास्वपा संगठन विस्तारको अभियानमा लागेको जानकारी पनि गराए । अर्यालले संविधान संशोधनका लागि रास्वपाले संसदमा जोडदार ढंगले आवाज उठाउने बताए । उनले भने,’संविधानसभा केही कुरा असाध्यै राम्रा पनि छन् तर धेरै कुराहरू सच्याउनु पर्ने पनि छन् । त्यसकारण संविधान संशोधन गर्नुपर्छ । यो रास्वपाको स्पष्ट धारणाा पनि हो ।’

राजतन्त्र र राजा फर्काउने सन्दर्भमा सञ्चारकर्मीले सोधेको प्रश्नमा उपसभापति अर्यालले नेपालमा अब राजा वा राजतन्त्रका बारेमा बहस गर्नु आवश्यक नै नभएको बताए ।