सभ्यताको इतिहासमा विश्वासका अन्य सभ्यताजस्तै सिन्धु (सैन्धव) सभ्यता पनि महत्वपूर्ण मानिन्छ । असुरियाबाट आएका असुरहरुद्वारा स्थापित सिन्धु सभ्यताको समय ई.पू. २८औँ शताब्दीदेखि ई.पू. २२औँ शताब्दी गरी जम्मा ६०० वर्ष मानिएको छ । सिन्धु सभ्यता मोहेन्जोदारो र हडप्पा (जो आज पाकिस्तानमा पर्दछ) को उत्खनन् पछि फेला परेको थियो ।
यो सभ्यता पशुपालनदेखि कृषि उत्पादनमा प्रवेश गरी जौ र गहुँ खेतिबाट सुरु गरेको बुझिन्छ । कुलो, नहर निर्माणदेखि नगर निर्माण र राज्यसत्ताको सुरुवात पनि गरेको देखिन्छ । सिन्धु सभ्यतालाई ताम्र-काश्य युगको सभ्यता र द्रविडियनको सभ्यता मानिन्छ ।
मातृदेवि र पशुपति (महादेव) लाई मुख्य देवी-देवताका रुपमा मान्ने त्यो सभ्यतामा सर्प, नन्दीलाई देवी-देवताका सहयोगीको रुपमा मानिन्थ्यो । तर प्रकृतिपूजक अवस्था नै मुख्य थियो । तर नदीमा आएको बाढी र घुमन्ते आर्यहरुको आक्रमणले सिन्धु सभ्यता समाप्त भयो । द्रविडियनहरु दक्षिण भारततिर लागे । कृषि युगमा प्रवेश गरिसकेका द्रविडियनहरुलाई आक्रमण गरी कब्जा गरेपछि वैदिक अथवा हिन्दु सभ्यताको सुरुवात हुन्छ ।
वैदिक सभ्यतालाई दुई भागमा बाँडिन्छ : पूर्व-वैदिक र उत्तर-वैदिक । पूर्व-वैदिककाल भन्नाले ऋग्वेदकाल (ई.पू.१५०० देखि ई.पू. १२००) लाई बुझाउँछ । बहुदेववादमा विश्वास गर्ने आर्यहरुले आकासमा ११, पातालमा ११ र मर्त्यलोकमा ११ गरी ३३ देवीदेवता मानेका छन् ।
मुख्य देवतामा ईन्द्र, अग्नि, वरुण, सोम र सूर्य थिए । तीमध्ये प्रमुख देवता ईन्द्र नै थिए भने महादेवको कुनै स्थान थिएन । बरु शिष्णदेवा (लिंग पुजा गर्ने) भनेर घृणा गरिन्थ्यो, ब्रह्मा (प्रजापति) को पनि स्थान थिएन । ऋग्वेद खास गरी देवताहरुलाई सम्मान र आराधना गर्ने प्रार्थनाको संग्रह थियो । अर्थात् जे गरेपनि ‘म राम्रो सुख, सम्पति, पाऊँ’ भन्ने सार थियो ।
मानिसको मृत्युुपछि गाड्ने, पशुपंक्षीलाई खुवाएर कंकाल गाड्ने वा जलाउने दुवै चलन थियो । क्रिया बस्ने, जुठो बार्ने चलन सुरु भएको थिएन । बरु मृतकका नाममा वेदका मन्त्र पढेर काम सक्ने गरिन्थ्यो । जातपातको सुरु नभए पनि श्रमको विभाजन भएको र ऋग्वेदको अन्तिमतिर जात व्यवस्थाले आकार ग्रहण गरेको थियो । ऋग्वेद निर्माणपछि उत्तर-वैदिककाल प्रारम्भ हुन्छ । ई.पू.१२औँ शताब्दीदेखि ई.पू.६०० सम्मलाई उत्तरवैदिककाल मानिएको छ ।
यो कालमा भूगोल विस्तार, जात प्रथाको सुरुवात, आध्यात्मिक दर्शनको विकास भएको मानिन्छ । यता देवताहरुको वरियतामा पनि परिवर्तन आई ईन्द्रलाई घटुवा गरी प्रजापति (ब्रह्मा) प्रमुख देवतामा नियुक्त गरियो । यसैगरी अनार्यका पुर्खा महादेवलाई पनि ब्रम्हाकै समकक्षीमा राखियो । सृष्टिकर्ता ब्रम्हा, पालनकर्ता विष्णु र संहारकर्ताको जिम्मेवारी महादेवलाई तोकियो ।
ऋग्वेदमा ‘शिष्णदेवा’ अथवा लिङ्ग पुजा गर्ने भनेर घृणा गरिएका अनार्य द्रविडियनका देवतालाई उत्तरवैदिककालम ‘रुद्र’ भनियो । सिन्धु सभ्यतामा साँढे, नाग र मातृदेवी, लिङ्ग पुजा, नाग पुजाको परम्परा आर्यहरुले अनार्यबाट लिएको र अथर्ववेदमा उल्लेख जादु-टुना, मन्त्र-तन्त्र पनि अनार्यबाट उत्तरवैदिककालमा लिएको बुझिन्छ ।
ऋग्वेदकालमा रहेको नारीको सम्मान उत्तरवैदिककालमा घटेर गयो । छोरीलाई दुःखको कारण मान्दै कन्या बेच्ने, दाइजो दिने कुप्रथा र सतीप्रथा प्रारम्भ भयो । ‘छोरीको विवाह रजस्वालापूर्व नै गर्ने’ ब्यवस्था गरेर बालविवाहको जग बसालियो । यस विषयको सारमा आज नेपालमा धर्म र परम्पराबारे जे बुझाइ छ, त्यसमा ध्यानाकर्षण होस् र विचार होस् भनी प्रस्तुत गरिएको हो । स्मरण रहोस्, ऋग्वेदकालमा जे थियो त्यो उत्तरवैदिककालमा रहेन ।
१९औँ शताब्दी ई.पू.को रामायणकाल र १४औँ शताब्दीको महाभारतमा फरक छ । यी सबै विषय भार्गवले लेखेको मनुस्मृतिले सबै तोडेर नयाँ परम्परा थालनी गरे, जो मानवता विरोधी हुन पुग्यो । देवता फेर्न सकिने, परम्परा फेर्न सकिने, जात फेर्न सकिने विगतको इतिहास छ भने नेपालमा ५ हजार वर्ष पुरानो कुरा समातेर आजको दुनियाँलाई प्रतिगमनतर्फ धकेल्नु हुँदैन । विगत जे थियो, आज त्यो छैन र भोलि पनि त्यो हुँदैन । समयको गतिसँगै सबै बदलिन्छन् । हामी बदलिनु पर्छ भन्दा अप्ठ्यारो त पर्दैन ?