• बैशाख १० २०८३, बिहीबार

समुदायको भाषा र संस्कृति बचाउन संसदमा आवाज उठाउने छु : सांसद काउचामगर

चैत्र ९ २०८२, सोमबार

काठमाडौं । ‘भाषा, लिपि, कला र संस्कृति रहे जातीयताको अस्तित्व रहन्छ, जातीयताको अस्तित्व रहे मात्र राष्ट्रियताको अस्तित्व रहन्छ’ भन्ने मूल नारा सहित नेपाल मगर साँस्कृतिक संघ विशेष उपत्यका पूर्वी, मध्य र पश्चिम सम्पर्क समितिको प्रथम अधिवेशन –२०८२ को उद्घाटन कार्यक्रम भब्यरुपमा सम्पन्न भएको छ ।

नेपाल मगर साँस्कृतिक संघ विशेष उपत्यका पूर्वी, मध्य र पश्चिम सम्पर्क समितिको आयोजनामा भएको उक्त कार्यक्रमको प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य रेनुका काउचामगर थिइन् ।

उद्घाटन कार्यक्रममा बोल्दै सांसद काउचामगरले समुदायको भाषा, धर्म संस्कृतिलाई जोगाउन मगर साँस्कृतिक संघले महत्वपूर्ण भूमिका खेलेको बताइन् । भाषा, लिपि, कला र संस्कृति रहे मात्र समुदायको पहिचान र अस्तित्व रहने उल्लेख गर्दै नयाँ पुस्ताले यस्ता विषयमा सचेत भई अघि बढ्नु पर्ने धारणा उनको रहेको छ ।

उनले भनिन्‌–म भर्खरै संसदमा पुगेकी छु । मेरो पार्टी नेपाली काँग्रेसले मलाई विश्वास गरी टिकट दिएकै हुनाले म त्यो ठाउँमा पुग्न सफल भएँ । मगर समुदाय लगायतका भाषा, धर्म र संस्कृतिलाई बचाउन संसदमा आवाज उठाउने छु ।’
सांसद काउचामगरले कार्यक्रममा बोल्दै संविधानले धेरै कुरा दिए पनि कार्यान्वयन नभएको बताउँदै नीति निर्माण र व्यवस्थाका विषयमा संसदमा आवाज उठाउने बताइन् ।

उद्घाटन सत्रमा नेपाल मगर संघका सल्लाहकार तथा काँग्रेस नेता छन्द पहराई, मगर साँस्कृतिक संघ केन्द्रीय समितिका अध्यक्ष नन्द घर्तीमगर, साँस्कृतिक संघका पूर्व नेताहरु दीपसागर मगर, कविराज मगर समाजसेवी तथा मगर संघका केन्द्रीय सदस्य जुनु पुनमगर, मगर उत्थान समाज गोंगबुँका अध्यक्ष चन्द्रबहादुर थापामगर, मगर संघका सल्लाहकार कृष्ण थापामगर, नेपाल मगर विद्यार्थी संघका पूर्वअध्यक्ष दीपा आलेमगर लगायतको उपस्थिति रहेको थियो ।

उद्घाटन सत्र कार्यक्रममा नेपाल मगर साँस्कृतिक संघ विशेष उपत्यका पूर्वी, मध्य र पश्चिम सम्पर्क समितिले प्रतिनिधि सभा सदस्य रेनुका काउचा मगरलाई सम्मान पत्र सहित मायाको चिनो दिएर बधाई तथा शुभकामना प्रदान गरिएका थिए भने कार्यक्रमको अध्यक्षता कमल घर्तीमगरले गरेका थिए ।

कार्यक्रमको बारेमा रेशम आलेमगरले जानकारी गराएका थिए । कार्यक्रमलाई सफल पार्न मगर कलाकारहरुको बाक्लो उपस्थिति रहेको थियो ।