• मंसिर १२ २०८१, बुधबार

मेरो लाल ! मेरो कालापानी !

बैशाख १६ २०८०, शनिबार

म कुन्ती, पाण्डव जननी !
सत्य बोल्नै पर्छ मैले परिआएको बखतमा

किनकि मेरा लाल, युधिष्ठिर सत्यवादी छन्,
ढुक्क निर्धक्कता साथ भीष्मपितामह बनेर

यस कारण कि मेरो बल्लभ भीम मसँगै छन्
संकल्प सधै निशाना हुन्छ मेरो

अर्जुन मेरो लाल सर्वश्रेष्ठ धनुर्धर छन्
उत्तिकै मलाई कुरुप भनी कसैले हेप्नै सक्दैन

पुत्र नहकुल मेरो लाल अति सुन्दर छन्
मेरो कोखमा बसुदैव कुटुम्बकम् छ

यसले कि स्नेही पुत्र सहदेव मेरै काखमा छन्
।।१।।

म कुन्ती, पाण्डव जननी !
तर पनि म अवाक छु, उद्विग्न छु

आगोका फिलुङ्गा झैं आँशुका डल्ला गुड्छन् आँखाबाट
काँप्छ शरीर ज्वालामुखी फुट्छन् कहाँकहाँबाट

साथी सम्बन्धीलाई के भनुँ मेरो लाल कालापानी छैन !
लिम्पिया धुरा र लिपुलेक मेरो मुटुको टुक्रा होइन ?

मेरो कर्ण, मेरो लाल के मेरो कोखबाट जन्मेको हैन ?
तर चिलले चल्ला टिपे झैं मेरै अगाडि टिप्न आएपछि

सिंहले आँखा अगाडि क्रुरतापूर्वक झम्टन पाएपछि
धृष्टतालाई ‘कुन्तीभोज’ सम्झिएर लाचार हात फैलाऊँ म !

सखीसम्बन्धी ! तिमी खेल नखेल यो सैह्य हुँदैन
।।२।।

म कुन्ती, पाण्डव जननी !
मुटु खोसेर मेरो, अधर्मीको राज्य बिस्तार !

अस्तित्वमा धावा बोल्दै उल्टै मैलाई तिरस्कार ?
ठीक छ, वनबास र गुप्तबासका साजिस रचिन्छ भने

दस वर्ष त के ? अरु दसकौं बलिदानका ज्वाला दन्दनाउँछन्
त्यसपछि अदवका साथ माथ ठड्याउने हर्षका दिन आउँछन्

मेरा पाण्डव ! अब ब्रिटिश वा इन्डियन गोर्खा भएर होइन

नेपालका गोर्खा भएर मुखमा खुकुरी च्यापी सरिसृप झैं
पत्तै नपाउने गरी तिम्रा बर्बरता अन्त्य गर्ने महाकाल भै

सहश्र तीर झैं घोपिन निमेषभरमा एकसाथ बर्सने छन्
।।३।।

म कुन्ती, पाण्डव जननी !
मेरो कर्ण ! द्वापरको महाभारत युद्धमा

ममतामयी आमाको छाती खोलेर
प्रायश्चित गर्ने मौकै पाएन

कौरब सेनापति बनेकै दिन म अभागी आमा
दोसाँधमा बाटो कुरेर ममतामयी पोल्टा थापे

तिमीले सोध्यौ– ‘मेरा महाविपत्तिका समयमा किन बोलिनौ ?’
पहिचानका विराट कर्महरुमा शुदपुत्रको कलंक लागिरहे

तर ‘म पाण्डव हुँ भन्ने भेद किन खोलिनौ ?’
महाभारतको प्रारब्धमा उनिएको विभ्रमको कथा

क्षणभरमै तिमीलाई कसरी सुनाउन सक्थे म ?

तिमीलाई कौरव शिविर पुग्न हतार
मलाई अभागी आमा हुनुको असैह्य मार

मेरो कर्ण ! लिम्पियाधुरा, लिपुलेक र कालापानी !
।।४।।

म कुन्ती, पाण्डव जननी !
तिमीलाई अधर्मीको पञ्जाबाट

घायल सिंहिनी झैं झम्टदै
खोसेर काखमा लिन्छु श्याम वर्ण !

लिम्पियाधुरा, लिपुलेक र कालापानी ! मेरो प्रिय कर्ण !
अरुको लाखभन्दा आमाको काख दिएर

प्रायश्चितको घुट्को पिएर बर्बरहरुको हुर्मत लिन तयार छु
शीरमा श्रीपेच झैं ठडिएको, चुच्चो परी अडिएको

मेरो नानी ! लिम्पियाधुरा, लिपुलेक र कालापानी !
सखीसम्बन्धीको वीरताको निशानी !

मेरो कर्ण ! लिम्पियाधुरा, लिपुलेक र कालापानी !

।।५।।