विराटनगर । एमाले छोडेका दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान पनि राप्रपा जस्ते गरी राजतन्त्र फर्काउने अभियानमा लागेको छ ।
उनै प्रसाईंले बुधबार झापाको दमकमा आयोजित कार्यक्रममा केही नयाँ र गम्भीर खुलासा गरेका छन् । उनले पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओली पनि संवैधानिक राजतन्त्र ल्याउने पक्षमा रहेको दाबी गरेका छन् ।
प्रसाईंले त्यति मात्रै भनेनन्, केपी शर्मा ओलीले आफू हिन्दु राष्ट्र स्थापना र संघीयता खारेज गर्ने पक्षमा रहेको बताउने गरेको दाबी पनि गरे । ओलीसँगको सल्लाहमै झापाको मेची पुलमा पूर्वराजा ज्ञानेन्द्र शाहलाई ल्याएर कार्यक्रम गरिएको पनि प्रसाईंको दाबी छ ।
उनले आफ्नै मोबाइलबाट ओली र पूर्वयुवराज पारस शाहको कुरा गराएको पनि जिकिर गरे । ‘केपी ओलीज्यूकै सल्लाहमा मैले राजा ज्ञानेन्द्रलाई मेची पुलमा ल्याएको हो, आज मैले दमकमा आएर सत्य कुरा गर्नुपर्छ । मेरै फोनबाट पारस सरकारसँग कुरा भएको हो केपी ओलीज्यूको । त्यो पनि मैले सत्य बोल्नैपर्छ । म पनि आउँछु त्यहाँ भन्नुभएको थियो’, उनको भनाइ थियो ।
प्रसाईंले भने, ‘मैले पनि होला भन्ने लागेर राजालाई बोलाइ हालेँ । राजा पनि आउने हुनुभयो । सबै गरेपछि अहिले राजा नल्याऊ न नाति भन्नुभयो । मेरो पनि इज्जतको कुरा हो नि । म पनि कुमाई परिवारकै मान्छे हो । आठराईको पानी खाको । अनि फर्किने कुरा भएन । अहिले दमकमा आएर यो दुःखको कुरा भन्नु परेको छ । मेरा हजुरबुबालाई भन्नुपर्छ ।’
प्रसाईंले मेची पुलमा पूर्वराजा आएकै दिन एमाले अध्यक्ष ओली पनि झापा आएको स्मरण गरे । ‘राजा मेची जाँदा हजुरबा पनि दमक त आउनु भएकै हो नि, तर कसोकसो गर्दा उहाँ कार्यक्रममा आउनु भएन । त्यसपछि हिक्मत कार्की, थापा दाजुभाइले दुर्गा प्रसाईंलाई कारबाही गर्नुपर्छ भनेर दबाब दिएछन् । त्यो थाहा पाउने वित्तिकै मैले हजुरबुबालाई तपाईंको झोला चाहिँदैन भनेर केन्द्रीय सदस्य छोडेको हुँ,’ उनले भने ।
ओलीकै गृहनगरमा झन्डै १ घण्टा भाषण गरेका प्रसाईंले ओली, प्रधानमन्त्री पुष्पकमल दाहाल, काँग्रेस सभापति शेरबहादुर देउवा लगायतको मात्रै आलोचना गरेनन्, राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई ‘दलाल’ भन्न समेत भ्याए । उनले गभर्नर अधिकारीकै कारण देश टाट पल्टिँदै गएको दाबी गरे । अर्को प्रसंगमा प्रसाईंले प्रदेशको नाम किराँत–लिम्बुवान राज्य बीचमा मिलाएर खस राज्य बनाउँदा हुने पनि बताए । ‘मेरो त संघीयतै खारेज गर्नुपर्छ भन्ने हो । यदि सकिँदैन भने किराँत–लिम्बुवान राज्य बीचमा मिलाएर खस राज्य बनाउँदा हुँदैन ? सकेसम्म हामी मिलेर बाँच्न पाए भएन ?,’ उनले भने ।