• फाल्गुन २७ २०८२, बुधबार

नरेन्द्रभाई मोदी बारे बीबीसीले बनाएको दोस्रो भिडियो पनि भारतमा प्रतिबन्ध

माघ ११ २०७९, बुधबार

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीमाथि केन्द्रित रहेर बिबिसीको वृत्तचित्र ‘द मोदी क्वोइसन’ को दोस्रो भाग पनि सार्वजनिक भएको छ । भारतमा भने यो वृत्तचित्र प्रदर्शनका लागि बर्जित छ । सूचना तथा प्रविधि कानुनमा आकस्मिक अवस्थामा सरकारलाई प्राप्त विशेषाधिकारको प्रावधान अन्तर्गत भारत सरकारले बिबिसीले बनाएको वृत्त प्रदर्शनमा रोक लगाएको हो ।

भारत सरकारले युट्युब र ट्वीटरलाई वित्त चित्रको लिङ्क हटाउन पत्राचारसमेत गरेको थियो । यो वृत्तचित्र औपनिवेशिक मानसिकताबाट ग्रसित रहेको भारतीय सरकारको भनाइ छ । वृत्तचित्र मोदी गुजरातको मुख्यमन्त्री रहँदा सन् २००२ मा हिन्दु र मुस्लिमबीच भड्किएको द्वन्द्वमा मोदीको भूमिकाबारे केन्द्रित छ ।

त्यस दंगामा कम्तिमा पनि १ हजार जनाको मृत्यु भएको थियो जसमा ७ सय ९० जना मुस्लिम थिए । भारतमा प्रसारणमा रोक लगाइए पनि विभिन्न तरिकाले वृत्तचित्र नागरिक समक्ष पुगेकोमा सत्तारूढ दल भारतीय जनता पार्टी निकै रूष्ट छ । यो वृत्त चित्रका कारण भारत र बेलायतको कुटनीतिक सम्बन्धमा पनि दरार उत्पन्न भएको फरेन पोलिसिले लेखेको छ ।

आगामी वर्ष भारतमा आम निर्वाचन हुन लागेको समयमा मोदीको विगत स्मरण गराउने वृत्त चित्र बिबिसीमार्फत् सार्वजनिक भएकाले दुई मलुकको सम्बन्धमा चिसोपना आएको फरेन पोलिसिमा उल्लेख छ । बिबिसीको वृत्तचित्रको पहिलो भाग मोदीको राजनीतिक यात्रा र गुजरात दंगामा विवादास्पद भूमिकाबारे केन्द्रित छ ।

त्यस समयमा मोदी गुजरातको मुख्यमन्त्री थिए । उनले रेलमा गराइएको आगलागीका कारण मृत्यु भएका ५९ जनाको शव अहमदावाद ल्याउन स्वीकृति दिँदा बदला भाव बल्झिएको बिबिसीको वृत्त चित्रमा बताइएको छ । त्यसपछि नै मुस्लिम समुदायलाई निसाना बनाएर आक्रमण सुरु भएको देखाइएको छ ।

त्यस वृत्तचित्रमा उल्लेख भएको कुरा उद्दृत गर्दै फरेन पोलिसिले लेखेको छ, ‘आक्रोशित भीडले योजनावद्ध ढंगबाट मुस्लिम समुदायलाई निसाना बनाए । उनीहरूको घर र व्यापार जलाइयो । यस घटनामा संलग्नहरूप्रतिको दण्डहीनताको नीतिमा मोदीको संलग्नता रहेको र यो कुरा बेलायतको गोप्य अनुसन्धानबाट खुलेको बिबिसीको वृत्तचित्रमा उल्लेख छ ।’

सन् २००२ को गुजरात दंगाको राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा आलोचना भएको थियो । तत्कालीन प्रधानमन्त्री अटल बिहारी बाजपेईमाथि मोदीलाई बरखास्त गर्न दबाब परेको थियो । बाजपेइले मोदीले शासकको भूमिका निर्वाह गरेको जवाफ दिएका थिए । बढ्दो दबाबलाई थेग्न नसकेपछि मोदीले प्रदेशसभा विघटन गर्दै चुनाव घोषणा गरेका थिए । त्यस चुनाव भाजपानै विजयी भयो । सन् २००४ को आम निर्वाचनमा भने गुजरात दंगाकै कारण भाजपाले केही सिट गुमायो ।

सन् २०१३ मा भाजपाले आफ्नो संख्या बढायो । चामात्कारिक रूपमा उदायो । सन् २०१९ मा आइपुग्दा भाजपाको उपस्थिति अझ बलियो भयो । बिबिसीको त्यस वृत्तचित्रमा पुराना भिडिओ फुटेज तथा विज्ञहरूसँगको कुराकानी समावेश छ । त्यस दंगामा ज्यान जोगाउन सफल भएकाहरूको भनाइ पनि समावेश गरिएको छ । त्यस दंगाको क्रममा बेलायतको विदेश सचिव रहेका ज्याक स्ट्रको भनाई वृत्तचित्रको महत्वपूर्ण पाटो हो । भारतमा बेलायतको उच्च आयोगले अनुसन्धान गरेर प्रतिवेदन बेलायत सरकारलाई बुझाएको उनले त्यहाँ खुलाएका छन् ।

जसमा स्ट्रले भनेका छन्, ‘दंगाबारे जे जति प्रतिवेदन सार्वजनिक भएका छन् तिनले दाबी गरेभन्दा धेरै क्षति भएको छ । हिन्दु बाहुल्यता भएका क्षेत्रबाट मुस्लिमलाई हटाउने उद्देश्यले दंगा भड्काइएको छ ।’ बिबिसीको वृत्तचित्रमा उपस्थित बेनामे कुटनीतिज्ञले भने त्यस घटनालाई संगठित नरसंहारको संज्ञा दिइएका छन् । त्यस वृत्तचित्रको पहिलो भागमा दंगा लगत्तै मोदीले बिबिसीलाई दिएको अन्तर्वार्ता पनि समावेश छ । प्रश्नकर्ताले मोदीलाई घटनापछि के सिक्नुभयो भनेर प्रश्न गर्छन् । ‘मिडियालाई नियन्त्रण गर्नेबारे मैले पाठ सिक्नुपर्ने भयो,’ मोदीले जवाफ दिएका छन् ।

मोदीले मिडियालाई नियन्त्रण गर्ने सवाललाई यसरी लिएका छन् कि, उनी प्रधानमन्त्री भएयता पत्रकार सम्मेलनमा उपस्थित छैनन् र आफूप्रति आलोचक मिडियालाई मोदीले समय दिँदैनन् ।