• मंसिर १७ २०८१, सोमबार

‘प्रहरीको सिआइडी हौं’ भन्दै लुटपाट गर्ने ६ जना पक्राउ

माघ ५ २०७९, बिहीबार

काठमाडौं । प्रहरीको सीआईडी हौं भन्दै लुटपाट गर्ने ६ जना महोत्तरीबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा बर्दिबास नगरपालिका-१४ का २२ वर्षीय निरज साह सोनार, गुड्डु भन्ने पप्पु साह, २३ वर्षीय सन्दीप लामा, २२ वर्षीय सनम मगर, वडा नं. १२ चल्कीटोलका शैलेन्द्र राउत र जनकपुरधाम उपमहानगरपालिका-७ जिरोमाइलका १९ वर्षीय दीपक राउत छन् ।

उनीहरुलाई बुधबार प्रहरीले लुटपाटको सामानसहित बर्दिबासबाट नियन्त्रणमा लिएको हो । बर्दिबास प्रहरीका प्रहरी नायव निरीक्षक रवि रावलका अनुसार उनीहरुले प्रहरीको सीआईडी हुँ भन्दै गत पुस २८ गते अपरान्ह सर्लाही हरिवन नगरपालिकाका राहुल महतोलाई नियन्त्रणमा लिई बर्दिबास ४ स्थित चेरुको जङ्गलमा लगेर लुटपाट गरेका थिए ।

महतोको साथमा रहेका ७५ हजार नगद, चाँदीको ब्रासलेट, लेन्ससहितको नेकोन एएफएस क्यामेरा, ३ थान मोबाइल समेत लुटेको प्रहरीले जनाएको छ । उनीहरुले लुटपाटपछि सीआईडी भन्दै धम्काएका थिए ।

महतोले दिएको उजुरी दिएपछि हुलियाको आधारमा ६ जनालाई पक्राउ गर्न सफल भएको हो । उनीहरुमाथि थप अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ ।