• मंसिर १० २०८१, सोमबार

ऋतु परिवर्तनको जनाउ दिने माघी

माघ ४ २०७९, बुधबार

कला–संस्कृतिले छुट्टै नाम राख्न सफल भएको नेपालमा विभिन्न समय र परिस्थितिमा संस्कृतिक चाडपर्व मनाइन्छ । तीमध्ये माघे सक्रान्ति नेपाली समुदायको विशेष चाडपर्व हो । माघे सक्रान्तिले जाडो महिनालाई विदाई गरी बसन्त ऋतुको स्वागत गर्ने गरेको भनाई हामी हाम्रा अग्रज अभिभावकबाट सुन्दै आएका छौं । यो समयमा इष्ट, आफन्त र साथीभाई जम्मा भई एकआपसमा खुसी साटासाट गरि विभिन्न परिकारहरु खाने गरिन्छ ।

माघे सक्रान्ति विशेषगरि जनजाति समुदायले परापूर्वकालदेखि मनाउँदै आएको पर्व हो । नेपाल आफैमा अनेकतामा एकताको भावनाले स्वचालित देश भएको र जनजातिको प्रभाव नेपाली समाजमा पर्दै आएकाले नेपालमा बसोबास गर्ने सबै समुदायले आ–आफ्नै इच्छा अनुसार मिठो परिकार पकाई खाने चलन छ । जनजाति समुदायमा मिलिजुली हातेमालो गर्दै आएको हुनाले ब्राहमण र क्षेत्री समुदायले यसदिन हाँसीखुसी खसी काटी आफन्तहरु जम्मा भई रमाइलो गर्ने गर्दछन् । यस पर्वको अवसरमा ब्राहमण र क्षेत्रीहरुले पनि घ्यु, चाकु, वन तरुल, घर तिलको लड्डु, सखरखण्ड, सेलरोटी आदि परिकार खने गर्छन् ।

त्यसैगरी मगर समुदायको महान चाड माघे सक्रान्तिमा विशेषगरि चेलीलाई पुज्ने गरेका हामी सबैले हाम्रो बाल्यकालदेखि मनाउँदै आएका छौं । यस पर्वको अवसर पारि दाजुभाई तथा दिदीबहिनी सबैले बिहानको पहिलो प्रहरमा मुलपानी र धारालाई जमरा र पातीले सजाउने साथै नुहाई धुवाइ गरेर चेलीहरुलाई मुलको पानी र जमरा लिएर धुरी खाँबोमा पूजा गर्ने गरिन्छ । यसदिन छोरी चेलीहरुलाई माइती दाजुभाईले पूजा गर्ने गर्दछन् । चेलीलाई चामलको सेतो टिका, जौं र पातीको फूल लगाई दक्षिणा र आर्शिवाद दिने गरिन्छ ।

यसदिन छोरी चेलीलाई गिठ्ठा, पिडालु, तरुल, रोटी, तिलको लड्डु सहितको मिस्रा दिने गरिन्छ । मिस्रा दिनाले दाजुभाईको सम्पूर्ण ग्रहदशा सदाको लागि हराउने र दाजुभाईको जीवनमा सुख, शान्ति र समृद्धिले बास गर्दछ भन्ने प्रचलन रहि आएको छ । मगर समुदायमा विशेषतः सुंगुरको मासु, रक्सी, पिडालु, गिठ्ठा, तरुल, रोटी, तिलको लड्डु आदि परिकारहरु भेला भई खाने गरिन्छ । यस्ता परिकारले जाडोमा न्यानो प्रदान गर्ने भएकाले चिसो समयमा पर्ने पर्वमा तातो परिकार खाने गरिएको हो । यी परिकारमध्ये एउटा उखानमा भनिएझैं (पुषमा पाक्या माघमा खाया) तरुललाई पुस मसान्तका दिन उसिनेर माघ १ गते खाने परम्परा पनि छ ।

थारू समुदायमा पनि माघे सक्रान्ति धुमधामका साथ मनाइने गरिन्छ । थारु समुदायले माघको तयारी केही दिन पहिलेदेखि नै शुरु गर्ने गर्छन् । माघको केहि दिन अगावै पात टिप्ने, दाउरा ल्याउने, जाँड–रक्सी पार्ने, माछा मार्ने ठाउँको छनौट लगायतका कामको गरिन्छ । मासको दाल, चामल, नुन, बेसार, घ्यू या तेलमा पकाई खिचडी बनाइ खाने चलन पनि थारु समुदायमा प्रलित छ । यस दिन सुंगुरको मासु, माछा, घुँगी आदि खाइन्छ । यसरी थारु समुदायले पनि जाडो महिनाम शरीरमा तापक्रम बढाउने चिजवस्तुहरु खाने गर्दछन् ।

त्यसैगरी तामाङ समुदायमा पनि माघे सक्रान्ति भव्यका साथ मनाउने गरिन्छ । यस दिन आफूले टिपेको फूलपाती सिउरी अगूजलाई कानमा लगाइदिएर ढोग्ने गरिन्छ । त्यसपछि घरमा पकाइएका तरुल, पिडालु, आलु, फापपरको रोटी, गहत लगायतका परिकार खाएर ठूलोबडाको अशिर्वाद लिने गरिन्छ ।

नेपालीहरुले यस सिजनमा जे जति कन्दमुल उत्पादन हुन्छन्, ती माघे संक्रान्तिको विशेष परिकार बनाइ खाने गर्दछन् । माघे सक्रान्तिको अवसरमा माघको पहिलो दिन खाइने घिउ, चाकु तथा सखरले शरीरलाई शक्ति प्रदान गर्नुुका साथै शरीरलाई भित्रबाटै न्यानो प्रदान गर्छ । यसले शरीरलाई चिसो तथा चिसोका कारण शरीरमा लाग्ने रोगसित लड्ने क्षमताको विकास गर्न मद्दत गर्ने भएकाले यस्ता परिकारहरु माघे सक्रान्तिमा खाने गरिन्छ ।