• बैशाख २८ २०८३, सोमबार

दाहाललाई चिनियाँ प्रधानमन्त्रीको बधाई सन्देश : ‘नेपालको विकास र समृद्धीमा चीनको सधै साथ रहनेछ’

पुष १५ २०७९, शुक्रबार

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाललाई चिनियाँ प्रधानमन्त्री ली खछ्याङले चीनको पूर्ण साथ रहने बताएका छन् । प्रधानमन्त्री लीले दाहाललाई लिखित बधाई सन्देश पठाउँदै कार्यकाल सफल हुने आशा व्यक्त गर्दै नेपालको स्थायीत्व, विकास र समृद्धी चीन सँधै साथमा रहने बताएका हुन् ।

लीले नेपालस्थित चिनियाँ दूतावासमार्फत् दाहाललाई बधाइ पत्र पठाएका थिए । दूतावासले प्रधानमन्त्रीलाई उक्त पत्र शुक्रबार हस्तान्तरण गरेको हो । पत्रमा लीले चीन दाहाल नेतृत्वको सरकारसँग मिलेर काम गर्न इच्छुक रहेको भन्दै दुवै मुलुकका जनताका लागि रणनीतिक साझेदारी कार्यक्रमलाई अघि बढाउने अपेक्षा समेत व्यक्त गरेका छन् ।

‘तपाईं नेतृत्वको सरकारले नेपालको दिगो सामाजिक र आर्थिक विकासमा महत्वपूर्ण कदम चाल्ने छ भन्ने आशा छ । नेपालको स्थायीत्व, विकास र समृद्धिको लागि चीन सँधै साथमा रहने छ,’ बधाई सन्देशमा भनिएको छ, ‘तपाईंको यो कार्यकाल सफल हुनेमा चीन विश्वस्त छ । साथै, पूर्ण सहयोग हुने कुरामा पनि विश्वस्त तुल्याउन चाहन्छ ।’

दुई देशबीच लामो समयदेखि पृथक द्विपक्षीय सम्बन्ध रहेको भन्दै बधाई सन्देशमा यसलाई थप प्रगाढ बनाउने विश्वास व्यक्त गरिएको छ । यसअघि चिनियाँ दूतावासले दाहाल प्रधानमन्त्री नियुक्त भएकै दिन र चीनको विदेश मन्त्रालयकी प्रवक्ता माओ निङले बधाई दिएका थिए ।