काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सरकारमा सशर्त सहभागी हुने निणर्य गरेको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई समर्थन जनाएको राप्रपाले बुधबार कार्यसम्पादन समिति बैठकबाट सशर्त सरकारमा सहभागी हुने निणर्य गरेको पार्टी प्रवक्ता मोहन श्रेष्ठले बताए ।
बुधबार पार्टीको केन्द्रीय कार्यालयमा बैठक ६ घन्टासम्म चलेको थियो । उनका अनुसार छ घन्टा लामो बैठकमा सरकारमा सहभागी हुने कि नहुने भन्ने विषयमा चर्काचर्की नै परेको थियो ।
‘सरकारमा सहभागी हुने कि नहुने भन्नेमा सांसद तथा पदाधिकारीबीच ६ घन्टा बहस भयो । अन्तमा एकताबद्ध रूपमा शर्तसहित सरकारमा सहभागी हुने सहमति जुट्यो र प्रस्ताव पारित भयो,’ प्रवक्ता श्रेष्ठले भने ।
सरकारमा जान नहुने भन्ने पक्षमा रवीन्द्र मिश्र, ज्ञानेन्द्र शाही लगायत थिए । त्यस्तै सरकारमा सहभागी हुनुपर्ने पक्षमा बुद्धिमान तामाङ, धवल शमशेर राणा, विक्रम पाण्डे, दीपक बोहोरा लगायत थिए ।
‘सुशासनका सवाल सम्बोधनका लागि सरकारमा सहभागिता जरूरी छ । जनतासँग प्रत्यक्ष गाँसिएका मन्त्रालय लिएर अनुभूति दिलाउने गरी काम गरेर देखाउन हामी सरकारमा जाऔं भन्ने मत राख्यौं,’ बुद्धिमान तामाङले भने । पार्टी प्रवक्ता श्रेष्ठका अनुसार राप्रपाले सरकारमा सहभागी हुन १० बुँदे शर्त अघि सार्ने निणर्य गरेको छ ।
‘वर्तमान सरकारसँग कुनै राजनीतिक माग भने नराख्ने राप्रपाको निणर्य छ । गणतन्त्रवादी प्रधानमन्त्रीले हाम्रा राजनीतिक माग पूरा गर्न नसक्ने हुँदा सुशासन र जनजीविकाका मुद्दाबारे हामीले १० शर्त अघि सारेका छौं,’ श्रेष्ठले भने ।
उनका अनुसार पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिनुपर्ने, मन्त्रिपरिषदका नीतिगत निणर्य अख्तियारको दायरामा आउनु पर्ने, सबै अस्पतालमा स्वास्थ्य बीमा लागू हुनुपर्ने, राष्ट्रियता र राष्ट्रिय एकता, सुशासन, समृद्धि लगायत दस शर्त पार्टीले निर्धारण गरेको छ ।
‘शर्तहरू पूरा भए सरकारमा सहभागी हुने निणर्य भएको हो,’ उनले भने, ‘हाम्रा शर्त सरकारका साझा न्यूनतम कार्यक्रममा समावेश गर्नुपर्ने छ ।’