काठमाडौं।काठमाडौंको प्रदर्शनमार्गस्थित रत्न राज्यलक्ष्मी क्याम्पस (आरआर) मा विद्यार्थीमाथि भएको आक्रमणको घटनामा संलग्नमाथि कारबाहीको माग गरिएको छ ।
अनेरास्ववियुकी अध्यक्ष सुनिता बरालले बुधबार जारी गरेको विज्ञप्तिमा क्याम्पसमा अध्यापन भइरहेको समयमा अराजक समूहले विद्यार्थीहरुको बीचमा रहेका अनेरास्ववियुका नेता कार्यकर्ताहरुमाथि सांघातीक आक्रमण भएको जनाएकी छन् ।
उक्त आक्रमणबाट अनेरास्ववियु आरआर क्याम्पस कमिटी अध्यक्ष मदन भण्डारी, उपाध्यक्ष लोकेश खड्का, काठमाडौं भूगोल जिल्ला कमिटी अध्यक्ष रवि मगर, नेता हर्क बोहोरा, ईश्वर विष्ट लगायत घाइते भएको भन्दै बरालले उनीहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरेकी छन् ।