काठमाडौं। २५ पुसमा प्रतिनिधिसभाको बैठक आह्वान गरिएको छ । बुधबार सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले २५ पुसको दिउँसो १ बजे बस्ने गरी प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी हुन् ।
प्रतिनिधिसभाको अधिवेशन आह्वान भएसँगै सभामुखको विषयमा चासो बढेको छ । संविधानतः माघ १० गतेभित्रै संसदले सभामुख पाउने तयारी छ ।
प्रतिनिधिसभाको पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख र उपसभामुखको निर्वाचनगरिनेछ । यस सम्बन्धी व्यवस्था संविधानको धारा ९१ मा छ । जहाँ भनिएको छ, ‘प्रतिनिधि सभाको पहिलो बैठक प्रारम्भ भएको मितिले पन्ध्र दिनभित्र प्रतिनिधि सभाका सदस्यहरूले आफूमध्येबाट प्रतिनिधि सभाको सभामुख र उपसभामुखको निर्वाचन गर्नेछन् ।’
सभामुख निर्वाचित नहुन्जेल प्रतिनिधिसभाका जेष्ठ सदस्य पशुपति शमशेर जबराले प्रतिनिधिसभा बैठकको अध्यक्षता गर्नेछन् ।
वर्तमान सत्ता गठबन्धनभित्र सभामुख पद नेकपा एमाले र माओवादी केन्द्रले आधा÷आधा कार्यकाल लिने सहमति भएको छ ।
सहमति अनुसार प्रधानमन्त्रीमा पनि आलोपालो गर्दा सुरुमा माओवादीले प्रधानमन्त्री लिएका कारण सुरुको सभामुख पद एमालेले लिनेछ ।
एमालेमा छविलाल विश्वकर्मा, पृथ्वीसुब्बा गुरुङ र विद्या भट्टराईलाई सभामुखका रुपमा हेरिएको छ । यी तीनै सांसदले नेतृत्वको निर्णय कुरिरहेको बताएका छन् ।
स्वमं ओली निकट नेताहरु पनि पार्टी अध्यक्ष एवं प्रतिनिधिसभाको संसदीय दलको नेता केपी शर्मा ओलीले सभामुखबारे कसैका सन्दर्भमा केही मुख नखोलिसकेको बताउँछन् ।