• जेष्ठ ७ २०८३, बिहीबार

एक सातासम्म भैसी नब्याएपछि शल्यक्रिया गरेर सुत्केरी गराइयो

पुष १२ २०७९, मंगलवार

काठमाडौं । नुवाकोटमा एक भैंसीलाई शल्यक्रियाबाट सुत्केरी गराइएको छ । बेलकोटगढी नगरपालिका– १ आरुखर्कका किसान रामप्रसाद ढकालको भैंसीलाई एकसाता देखि बेथा लागेको थियो।

एक सातासम्म भैसी ब्याउन नसकेर छटपटिएपछि नुवाकोटमा पशुचौपायको शल्यक्रिया गरेर सुत्केरी गराइएको यो पहिलोपटक भएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र नुवाकोटका पशु चिकित्सक डा बबलु ठाकुरले जानकारी दिए । उनको नेतृत्वमा रहेको प्राविधिक टोलीले ब्यथा लागेको एक सातासम्म ब्याउन नसकी छटपटाएको भैँसीको सोही गोठमा नै ‘शल्यक्रिया कक्ष’ बनाएर गरिएको शल्यक्रिया सफल भएको हो ।

शल्यक्रिया गरी पेटबाट मरेको पाडो निकालेर भैंसीको ज्यान बचाएको डा.ठाकुरको भनाइ छ । अहिले भैंसीको अवस्था सुधार हुँदै गएको उनले बताए ।

ब्याउन नसकेको पशुको पाठेघरमा हात हालेर सुत्केरी गराउने गरेको भएपनि शल्यक्रिया गरेको यो पहिलो पटक भएको भेटेरेनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र नुवाकोटका प्रमुख भरत पाण्डे बताउँछन् ।