काठमाडौं । नागरिकताका कारण विवादमा आएका राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रबी लामिछानेले आफ्नो नागरिकताको प्रतिलिपि पेश गर्न सकेका छैनन् । उनीमाथि पुरानै नागरिकताको प्रयोग गरेर उम्मेदवारी दिएको उजुरी निर्वाचन आयोगमा परेको छ ।
विवादमा आएका चितवन-२ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवी लामिछानेले आरोप अस्वीकार गरे। तर, प्रमाण पेस गर्न सकेका छैनन् । उनले फेसबुक लाइभबाट आफूमाथि लागेको आरोप झुटो भएको दावी गरे पनि नयाँ नागरिकताको प्रतिलिपी सार्वजनिक भने गर्न सकेका छैनन् । उनले फेसबुक लाइभमा नागरिकताको विषय चार वर्ष अगाडि नै टुङ्गिएको दाबी गरे।
के त्यसो भए उनले दावी गरेको जस्तै नागरिकताको विषय यसअघि नै टुंगिसकिएको हो त भन्ने विषयमा प्रश्न उठेको छ । हाल उनीमाथि नागरिकताको कानुनी बैधतामाथि प्रश्न उठेको हो । उनले पहिलो पटक जिल्ला प्रशासन कार्यालयबाट २०५० सालमा नागरिकता निकालेका थिए । अमेरिका गएपछि उनले अमेरिकाको नागरिकता लिएपछि नेपाली नागरिकता नागरिकता खारेजी भयो ।
नेपाली नागरिकता खारेजी भएपछि उनले पुन नागरिकता लिन चाहेमा पुरानो नम्बरमा नयाँ नागरिकता पाउँछन् । तर उनले हाल पनि २०५० सालमा जारी भएकै नागरिकताले काम चलाइरहेका छन् । उनको सो नागरिकताको बैधता माथि प्रश्न उठेको हो ।
नागरिकताको विवादमा कुरा उठेपछि उनले सामाजिक सञ्जालमा आफूबारे भएको टिप्पणीका बारेमा लेखेका छन्-‘एउटा नेपालीले पहिले प्रेस काउन्सिलमा, त्यसपछि २०७६ सालमा चितवन प्रहरीमा, त्यसपछि चितवन जिल्ला सरकारी वकिलको अभियोग पत्रमा, अनि चितवन जिल्ला अदालतको आदेश र फैसलामा, अनि उच्च अदालत हेटौडाको आदेशमा, अनि चितवन जिल्ला सरकारी वकिल कार्यालयदेखि महान्यायाधिवक्ताको कार्यालयसम्म नागरिकताको विषय समेतमा विवेचना भई सेटल भइसके पछि फेरी कति पटक स्पष्टीकरण दिनु पर्ने हो?’
उनले फेसबुक लाइभमा आत्महत्या दुरुत्साहनसम्बन्धी अभियोगको बेलामा यसबारे विवेचना भएको दाबी गरे। उनले बुधबारै चितवन-२ मा कोणसभा गरेर आफूविरुद्ध षड्यन्त्र भइरहेको दाबी गरे। तर निर्वाचन आयोगमा उनले पेश गरेको नागरिकता विद्यमान नागरिकता कानुनअनुसार निष्क्रिय भइसकेको छ। यही आधारमा निर्वाचन आयोगको कार्यालयले रवि लामिछानेलाई उम्मेदवारी खारेज किन नगर्ने भनेर स्पष्टीकरण सोधिसकेको छ ? लामिछानेले आयोगको स्पष्टीकरणको जवाफ पनि दिइसकेका छन् ।
रबीले दाबी गरे जस्तो पुरानै नागरिकता प्रयोग गर्न पाउने छैनन् । नागरिकता सम्बन्धी कानुनमा पुरानै नम्बर मात्रै ब्युँतने हो । नागरिकता पुन नयाँ जारी हुने हो । नेपालमा नागरिकता सम्बन्धी कानुनमा नेपाली नागरिकता पाएका नागरिकले अन्य कुनै देशको नागरिकता लिए नेपाली नागरिकता स्वतः खारेज हुने प्रावधान छ।
नागरिकता ऐन २०६३ को दफा १० मा नेपाली नागरिकता कायम नरहने प्रावधानमा ‘नेपालको कुनै नागरिकले आफूखुसी कुनै विदेशी मुलको नागरिकता प्राप्त गरेपछि निजको नेपाली नागरिकता कायम नरहने उल्लेख छ। सो प्रावधान अनुसार रवी अमेरिकी नागरिक भए लगत्तै उनले नेपालमा लिएको नेपाली नागरिक निष्क्रिय हुन्थ्यो उनी इमानदार भएको भए।
सोही दफाको उपदफा (२) मा ‘नेपाली नागरिकले नेपालको नागरिकता त्याग्न तोके बमोजिम सूचना गरेपछि तोकिएको अधिकारीले त्यस्तो सूचना दर्ता गरेको मितिदेखि नागरिकता कायम नरहने उल्लेख छ।
नेपालको कानुनले दोहोरो नागरिकता स्वीकार गर्दैन। तर उनले आफू अमेरिकन नागरिक भएको जानकारी नेपालमा दिएनन् । उनी विदेशी नागरिकको हैसियतमा पारिवारिक भिसामा नेपाल फर्किए । साथै अरु नेपाली सरह आफंलाई प्रस्तुत गरे । पहिला उनले अमेरिकी नागरिकता त्यागेर नेपाल नागरिकता नियमावली २०६३ अनुसार नागरिकता प्राप्तिका लागि प्रक्रिया अगाडी बढाउनु पर्थ्यो । तर उनले त्यसो गरेनन् । उनी बिरुद्ध उजुरी परेपछि मात्रै अमेरिकी नागरिकता त्यागेको घोषणा गरे । त्यसपछि नयाँ नागरिकताका लागि निवेदन दिएर नयाँ प्रमाणपत्र लिनुको साटो पुरानै नागरिकता चलाइरहेका छन् । यस कारण निर्वाचन आयोगले यि सबै आधार र कारण हेरर रवी लामिछानेको उम्मेदवारी खारेज गर्न सक्नेछ ।
यसरी सकिन्छ त्यागेको नागरिकता कसरी प्राप्त गर्न
नेपाल नागरिकता नियमावली-२०६३ को नियम ११ मा त्यागेको नागरिकता कसरी प्राप्त गर्ने भन्ने उल्लेख छ। सो प्रावधान अनुसार नागरिकता ऐनको दफा ११ बमोजिम नेपालको नागरिकता त्यागी विदेश गएको कुनै व्यक्तिले पुन : नेपाली नागरिकता प्राप्त गर्न चाहेमा विदेश नागरिकता त्यागेको निस्सासहित निजलाई पहिला प्रमाण पत्र प्रदान गर्ने मन्त्रालय वा सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा अनुसूची ११ को ढाँचामा निवेदन दिनुपर्ने उल्लेख छ। सो सूची भनेको पहिलो पटक नेपाली नागरिकता लिँदा बुझाउनु पर्ने फारम नै हो।
सोही नियमको उप नियम २ मा सूचनाको निवेदन प्राप्त भएपछि सूचना दर्ताको जानकारी दिई साबिककै नागरिकताको विवरणसहितको नेपाली नागरिकताको प्रमाण पत्र जारी गरिने उल्लेख छ।