• मंसिर १२ २०८१, बुधबार

कतारमा हुन लागेको विश्वकपको किन भइरहेछ चौतर्फि विरोध ?

कार्तिक १९ २०७९, शनिबार

काठमाडौं । आगामी ४ मंसिरबाट कतारमा विश्वकप फुटबलको आयोजना हुँदैछ । विश्वकप शुरु हुन लागेको १५ दिन बाँकी रहदाँ अहिले विश्वका धेरै देशले कतारको आलोचना गरिरहेका छन् ।

सामाजिक सञ्जाल फेसबुक, टुइटर र इन्साग्रामबाट विश्वभरबाट आलोचना भइरहेको छ । खासमा कतारको आलोचना मानवअधिकार उल्लंघन र रङ्गशाला बनाउँदा कामदारले पारिश्रमिक नपाएको भन्दै विश्वका धेरै देशले कतारलाई दबाब दिएका हुन् । कतिपय देशले त विश्वकप खेलमै विरोध गर्ने जनाइसकेका छन् । मानवअधिकार हनन गरेको भन्दै धेरै देशले यो पटकको विश्वकपलाई आफ्नो देशमा नदेखाउने चेतावनी दिइरहेका छन् ।

विश्वकपमा डेनमार्कले कतारको विरोधमा विश्वकपमा लगाउने जर्सीमा आफ्नो देशको नाम र लोगो धमिलो बनाउने जनाएको छ। साथै जर्मनीले ‘ह्युमन राइट’ लेखिएको कालो जर्सी लगाउने बताएको छ। यता फ्रान्सले पेरिस र अन्य फ्रान्सेली शहरका सार्वजनिक स्थानमा फुटबलको प्रत्यक्ष प्रशारण नदेखाउने बताउँदै आएको छ।

कतारबाट प्रसारित समाचारहरूमा रङ्गशाला निर्माणका क्रममा ६५०० बढी कामदारले ज्यान गुमाएको र तातो गर्मीका कारण हजारौँ आप्रावासी कामदारहरू पुन: काम गर्न नसक्ने अवस्थामा स्वदेश फर्काइएको भन्दै क्षतिपूर्ति कतारले दिनु पर्ने दवाव बढिरहेको छ। जसमा १ हजार ६ सय नेपालीले ज्यान गुमाएका थिए । कतारको उखर्माउलो घाममा काम गर्नुपर्दा धेरै नेपाली कामदारले ज्यान गुमाएका र ४ सय भन्दा बढी नेपाली अंगभंग भएको रिपोर्ट आइरहेका छन् ।

प्रतिष्ठित गार्जियन, बिबिसीलगायत सञ्चारमाध्यमले कतारले कामदारमाथि गरेको शोषणका समाचारहरू श्रंखलाबद्व रूपमा सार्वजनिक गर्दै मानवअधिकारको चरम उल्लंघन भएको जनाउँदै आएका छन्। बलियो अर्थतन्त्रका कारण कतारका लागि पैसा खन्याउनु ठुलो कुरा थिएन तर उसले कामदारमाथि गरेको अत्याचारको सिकार भने नेपालसँगै भारत, पाकिस्तान, बंगलादेश, श्रीलंकाका, फिलिपिन्सलगायतका आप्रावासी कामदारहरू भए ।

कतारले विश्वकपका लगि सातवटा नयाँ रंगशालाका साथै विमानस्थल, सडक र करिब १०० होटल निर्माण गरेको छ। कतार सरकारका अनुसार रंगशाला निर्माणका लागि मात्रै ३० हजार बढी विदेशी कामदारहरू खटेको जनाएको छ ।