• आश्विन ५ २०८१, शनिबार

आत्मा नै परआत्मा

कार्तिक १८ २०७९, शुक्रबार

काठमाडौं ।  जब मानिस यस धर्तिमा जन्म लिन्छ तबदेखि नै सबै मानिसको आ–आफ्नै जीवन कथाले भरिएको संसार हुन्छ, त्यस्तो संसार जहाँ केवल एकमुठ्ठी सासले काम गरिरहेको हुन्छ । भनिन्छ नि–सास हुँदासम्म आश हुन्छ भनेर, अनि मानिस त्यही एक मुठ्ठी सासको साहारामा यो संसारलाई चिन्ने र आफूलाई चिनाउने मौका प्राप्त गर्दछ । त्यो मानव जातीको लागि सौभाग्य पनि हो । जसले त्यो एक मुठ्ठी सासलाई बुझेर असल कर्म गर्दै मानवीय धर्म निभाउन सक्छ उसले नै जीवनमा सफलता मात्र होइन सबैको प्यारो व्यक्ति पनि बन्न सक्छ ।

त्यसैले यो संसारका हरेक मानिसको आफ्नै सपनाहरु हुन्छन्, आफ्नै इच्छा आकांक्षा र रहरहरु हुन्छन् ति सबै सोचिएका, देखिएका र मनन गरिएका सपनाहरु पुरा गर्न उसले रातदिन परिश्रम गरिरहेको हुन्छ । महासन्त बुद्धले पनि भन्नु भएको छ –जसले जस्तो कर्म गर्छ त्यस्तै फल प्राप्त गर्छ । त्यसैले आफ्नो किस्मत बनाउन पनि प्रत्येक मानिसले असल कर्म गर्न जरुरी छ ।

हुन त मानिसहरुले छिटो समयमा आफ्ना चाहना सपना पुरा गर्न गलतबाटो अंगालेरपनि अपुत धनसम्पति कमाएका हुन्छन् ती भनेका क्षणिककालागि मात्र हुन् किनकि अरुको आत्मा मारेर कमाएका अपुत सम्पत्तिले आउने दिनमा राम्रो गर्दैन । त्यसैले हरेक चिजबस्तुको आफ्नो समय हुन्छ समय भन्दा अगाडि केही पनि पाउन सकिदैन त्यसकोलागि मानिस भित्र धैर्यता हुनुपर्छ र सत्कर्म गर्न कहिल्यै पनि पछि पर्नु हुँदैन । धार्मिक कथन अनुसार भाग्य जन्मीदै लिएर आएको हुन्छ अरे । तर भाग्यमा छ भन्दैमा डोकोमा दुध दुएर पनि त हुँदैन ।

 

आफ्नो भाग्यलाई कसरी सार्थक बनाउने हो त्यो प्रत्येक मानिसको सकरात्मक सोंच र कर्ममा भर पर्दछ । जब तपाई सकरात्मक सोंच लिएर असल कर्म गर्नुहुन्छ भने तपाईको किस्मत चम्किनेछ अर्को कुरा भाग्य र किस्मत फरक कुरा हुन् । भाग्य तपाई जन्मीदै लिएर आएको हुन्छ भने किस्मत तपाईको कर्म, इमान्दारीता र मेहेनतमा भरपर्दछ । भन्नुको अर्थ तपाईको सोचाई, हेराई र बोलाईमा भर पर्दछ । मानवजातीको भाग्य भगवान्ले रचे पनि त्यो भाग्यलाई सफल बनाउने काम तपाईको कर्ममाथि निर्भर हुन्छ । असल कर्म सत्कर्मले नै तपाईको किस्मत बन्ने हो ।

धेरै टाढा जानु पर्दैन हाम्रै समाजमा बसोबास गर्ने मानिसहरुको जीवनचर्यालाई दृष्टि लगाउने हो भने आज हजारौं मानिसहरुले त्यतिकै समय वर्वाद गरिरहेका छन् । आजका प्रायः मानिसहरु दुःख नगरी सुख सुविधा भोग गर्न चाहान्छन् अझ नेपाल जस्तो देश जहाँ भष्ट्रचारै भष्ट्रचार मौलाएको ठाउँमा झनै मानिसहरु दुःख नगरी सत्ता र शक्तिको भरमा देशको ढुकुटी रित्याई रहेका छन् । यस्ता थुप्रै घटना र परिघटनाहरु छन् । तर जनताहरु रातदिन मरीमरी काम गर्दा पनि साँझ विहान दुई छाक जोहो गर्न धौ–धौ परिरहेको अवस्था पनि छ तर परिस्थिति अलिकति पनि सुर्धिएर अघि बढ्न सकेको छैन जसले गर्दा आज इमान्दार, नैतिकवान र कर्मशील नेपाली जनताहरु अफ्ठयारामा परेका छन् । यो त एउटा उदाहरण मात्र हो यस्ता थुप्रै घटनाहरु हाम्रो समाजमा देख्न सकिन्छ ।

अझ हाम्रो नेपाली समाजमा एउटा बुवाले कमाएको सम्पतिमा घरका सबै परिवारहरु आश्रीत भएर बाँचिरहेका छन् उनका सन्तानले पनि स्यमं आफै आत्मस्वालम्बी बन्नु पर्छ भन्ने चेतना अहिले पनि हाम्रो समाजमा विकास हुन सकेको छैन् । न त राज्यले नै वातावरण बनाई दिएको अवस्था छ । यस्तो सोंचले गर्दा पनि आज मानिसहरु अघि बढ्न नसकेको हो । अहिले पनि हाम्रो समाजमा पुरुष सरह महिलाहरुले खुलेर काम गर्ने बातावरण छैन् । किन कि दिनदिनै महिलाहरुको ईज्जत र आत्मास्वाभिमान लुटीरहेको अवस्था छ । महिलाले जति नै मै हुँ भनेर काम गर्ने आँट गरेपनि महिलाको ईज्जत अहिले पनि सुरक्षित छैन् । चाहे घर भित्रै होस् चाहे घर बाहिर होस् जतासुकै महिला तथा बालबालिकाहरुको अस्मिता लुटिएको छ ।

यस्तो अवस्थामा कसरी महिलाले आफै आत्मानिर्भर भएर खडा हुन सक्छ तर पनि पहिला भन्दा हालको वर्तमान अवस्थामा महिलाहरु पनि पुरुष सरह सक्षम र कर्मशील भई स्यंम आत्मनिर्भर हुने क्रमजारी छ । किन कि भगवान्ले आफ्नो अंश आत्मा लिएर प्रत्येक व्यक्तिलाई यस धर्तिमा पठाएको हुन्छ । सबै मानिसमा समान आत्मा हुन्छ । जस्तो कि सबै मानिसको रगत रातो भए जस्तै तर यो समाजले महिला र पुरुष विचमात्र विभेद नभई हरेक मानिसको जात, वर्ण, लिङग, धर्म तथा धनि गरिबको आधारमा विभेद गर्दै आइरहेका छन् जसले गर्दा पनि आम विश्वको मानिसहरु मानवतावादलाई अंगाल्न सकिरहेका छैनन् । संर्किण सोंचमा ग्रसीत छन् । केवल म म र मेरो घरपरिवार भन्दा माथि उठ्न सक्नुको मूल कारण पनि यही संक्रिण सोंचका कारण हो ।

चाहे महिला होस चाहे पुरुष दुवैको शरीर भित्र आत्मा हुन्छ । हामी सबैलाई थाहा भएको कुरो हो आत्मा नै परआत्माको अंश हो । त्यसैले मानिसको शरीर भित्र भएको आत्माले नेतृत्व गर्दछ र भौतिक स्वरुपले अनुसरण गर्दछ । हाम्रो शरीर भित्र भएको आत्माले निर्देशन दिएपछि मात्र हाम्रो शरीरको भागहरु जस्तै हात, खुटटा सञ्चालनमा आउने हो । त्यसैले हरेक मानिसहरुले आफूलाई सक्षम बनाउनकोलागि सधैं क्रियाशील हुनुपर्छ ।

किन कि भगवान्ले सबै मानव जातीलाई बराबर चराचर आत्मा दिएर यस धर्तिमा पठाएपछि म कमजोर छु भनेर कोही पनि मानिसले आफू कमजोर ठान्नु भनेको आफैले आफैलाई सफल व्यक्ति हुनुबाट पछि पर्नु हो । र परआत्मालाई ठग्नु हो । किन कि तपाईलाई केही चिज खान मन छ भने तपाईको हातको माध्यमबाट मात्र खाने मुखमा त्यो चिज पुग्छ अनि आफूले मन परेको चिज खानु भयो भने तपाईको आत्मालाई शान्ति मिल्छ । किन कि खाना त्यो पेटले मागेको होइन खाना त तपाई भित्र विराजमान भएको आत्माले मागेको हो । जुन आत्मा हाम्रो भौतिक शरीर सँग जोडिएर बसेको छ । जस्तै नङसँग मासु जोडिए जस्तै ।

सबै भन्दा ठूलो शक्ति भनेको नै आत्माशक्ति हो । जब तपाईले आफ्नो आत्माशक्तिलाई पहिचान गर्नु हुन्छ अनि मात्र तपाईले वास्तविक जीवनको बारेमा थाहा पाउनु हुनेछ । आज संसारमा जति पनि सत्कर्म गरेर मानिसहरु ठूल ठूला पदमा पुगेका मानसम्मान र इज्जत प्राप्त गरेका छन् ति मानिसहरुले पनि पहिलो कदम आफू भित्र भएको आत्माशक्तिलाई पहिचान गर्न सकेको हुनाले उनीहरु त्यो स्थानमा पुग्न सफल भए । उनीहरु अघि बढ्दै गर्दा विभिन्न बाधा अड्चनहरु नआएका होइनन् तर पनि उनीहरु आफ्नो गन्तब्यमा पुग्न सधैं क्रियाशील भईनै रहे जसले गर्दा एकदिन सफल व्यक्ति बने र यो विश्वमा आफ्नो पहिचान बनाउन सफल भए ।

त्यसैले कोही पनि मानिस एकै पटकमा धनि र सम्पन्न हुँदैन । तर उनीहरुको अवस्था जस्तोसुकै भएपनि ति मानिस भित्र भएको आत्माशक्ति प्रवल र उच्च भएको हुँदा आफूलाई सधैं क्रियाशील बनाउँदै सत्कर्म गरेको हुनाले पनि उनीहरु पछि गएर आफूले भने जस्तै जीवन जिउन सफल भएका हुन् । हरेक सफल मानिसको सफलतालाई हेर्ने हो भने उनीहरुको संर्घषको कथा निकै नै हृदयस्र्पर्धी छन् । त्यस्ता सफल व्यक्तिका जीवनकथा बाट पनि तपाई हामीले जीवनमा हौसला प्रेरणा लिन सक्छौं ।

त्यसैले हरेक मानिसले यस धर्तिमा जन्म लिनु मात्र ठूलो कुरो होइन जन्मेपछि आफूले यो संसार छाड्दै गर्दा आफ्नो छाप कस्तो बनाउने भन्ने कुरा महत्वपूर्ण हुन्छ । किन कि भोको पेट त एउटा कुकुरले पनि भर्न सक्छ तर मानिस एउटा यस्तो सर्वश्रेष्ठ, चेनतशील र विवेकशील प्राणी हो जसले असल कर्म र सकारात्मक सोंच राखेर काम गर्न सक्यो भने आफू लगायत यो संसारलाई परिवर्तन गर्न सक्छ । त्यसकारण प्रत्येक मानिसले आफूलाई कहिल्यै कमजोर ठान्नु हुँदैन किनकि तपाई भित्र त्यस्तो अमूल्य खजना छ बस त्यसलाई तपाईले पहिचान गरी बाहिर निकाल्न सक्नुपर्छ । त्यो बहुमुल्य खजनालाई सही ढंगमा प्रयोग गर्न सक्नु तपाईको बुद्धिमता हो। त्यो तपाईको विवेकपूर्ण सत्कर्म हो ।

यदि जीवनमा सफलता हासिल गर्नु छ भने मानिसले सधैं ध्यान दिनु पर्ने कुरा तपाई अरु सँग प्रतिस्पर्धा गर्ने होइन किन कि पहिलो प्रतिस्पर्धा भनेको तपाई आफूसँग गर्ने हो । आफू भित्र भएको कमीकमजोरी र नराकात्मक पक्षसँग तपाईले प्रतिस्पर्धा गर्ने हो । आफ्नो हृदयलाई खुला आकाश जस्तै बनाउनुहोस् । जब तपाईले आफू भित्र भएको नकारात्मक सोंचलाई जित्न सक्नु हुन्छ र आफ्ना कमिकमजोरीलाई पहिचान गर्नु सक्नुहुन्छ अनि बल्ल तपाईलाई अघि बढ्ने मार्गहरु भेटाउनु हुन्छ । त्यसपछि तपाईलाई गन्तब्यमा पुग्न कसैलेपनि रोक्न सक्दैन । हुन त अहिलेको संकिर्ण संसारमा प्रायः मानिस मानिसहरु बिचमा साना साना कुरामा पनि मनमुटाव भएर प्रतिस्प्रर्धा भईरहेको छ जसले गर्दा ति सोंच भएका मानिसहरु जति छिटो सफलता हात पार्नु पर्ने हो त्यति नै ढिलो भइरहेका छन् । किनकि आफू भित्र भएको नराकात्मक सोंचलाई हटाउनुको साटो अरुको बारेमा सोंचेर समय वर्वाद गरेको हुनाले पनि त्यस्ता मानिसहरु पछि परेका हुन्छन् । यस्ता क्रियाकलाप बाट प्रगति उन्नती गर्ने मानिसहरु सधैं टाढा बस्नुपर्छ ।

हरेक मानिसको जीवनमा सुखदुःख घामछाया, सफलता असफलता आई नै रहन्छन् तर आफ्नो गन्तब्य लक्ष्य के हो त्यो कुरा चाँही कहिल्यै पनि बिर्सिनु हुँदैन् । चाहे तपाईलाई जस्तोसुकै चुनौति र समस्या किन नआवस् तपाईको शरीरमा एकमुठ्ठी सास रहदासम्म आशाका किरणहरु अघि बढाई राख्नुपर्छ किन कि तपाईलाई यो कुरा पनि अवगत हुनु पर्छ कि हरेक चुनौति र समस्याका साथमा अवसर र समाधान पनि साथसाथै आईरहेको हुन्छ त्यसैले तपाई आफ्नो लक्ष्यमा यसरी केन्द्रीत हुनुस् ताकि समयले आफै तपाईकोलागि लक्ष्य निर्धारण गरी सफलतामा पुराउन सकोस् । बस त्यसकोलागि तपाई भित्र भएको आत्माशक्तिलाई सधैं क्रियाशील, सकरात्मक र उच्च मनोबलका साथ असल कर्म गर्न तिर लागि पर्नुस् सफलता तपाईको हातमा आउनेछ ।

अतः सूर्य बोल्दैन किनकि उसको प्रकाशले उसको परिचय दिईरहेको हुन्छ त्यसैले तपाई पनि शब्दले होइन तपाईको असल कर्मले पहिचान बनाउने व्यक्ति बन्नुस् । एक दिन त्यही असल कर्मले तपाईको परिचय बन्नेछ । आज विश्वमा त्यतिकै सूर्यको प्रकाशको चर्चा छैन किन कि उसले आज विश्वलाई प्रकाश दिईरहेको छ र उसको अस्त्तिव र पहिचान छ । हो हामी मानिसहरु पनि यो संसारको एउटा चमकदार प्रकाश हौं उज्यालो सूर्य हौ ।किन कि हाम्रो भौतिक शरीर भित्र परआत्माको अंश आत्मा छ जसले हामीलाई प्रकाश दिइरहेको हुन्छ त्यो प्रकाशलाई पहिचान गर्दै अघि बढ्यौ भने अवश्य एकदिन सूर्यले प्रकाश दिए जस्तै आफूभित्रको अदृश्य ज्ञानहरु मार्फत यो संसारभरि चम्किनेछौं ।