• मंसिर ११ २०८१, मंगलवार

तलाक भइसकेपछि पुनः संगै बस्न चाहे के गर्ने ?

भाद्र २८ २०७९, मंगलवार

रिस, आवेग र बहकावमा लागेर मान्छेले सानोतनो निहुमा तलाक त दिइहान्छन् । जब आफ्नो गल्ती महशुस हुन्छ अनि पश्चाताप गर्न थाल्छन् । तलाक दिएकै पत्नीका गुणहरु सम्झिन थाल्छन् अनि उसैसँग बस्न खोज्छन् । तर तलाक दिइसकेपछि इस्लामी शरियत कानून अनुसार वैधानिक रुपमा वैवाहिक नाता समाप्त भइहाल्छ बस्नै चाहे अब के गर्ने ?

त्यसकारण सब भन्दा पहिला बुझ्नु पर्ने कुरा के हो भने तलाक इच्छा वा रिसका कारण साना साना कुरामा मनपरी दिने वा लिने चीज होइन । यो त शरियतले दुई त्यस्ता व्यक्ति जसलाई संगै बस्न असम्भव भएपछि एक अर्कासंग छुट्टिन दिएको बाटो हो ।

अनि हलाला चाहीँ तलाक दिएकै पत्नीलाई पुनः आफ्नो जीवनमा वैधानिकताका साथ सामेल गर्न दिएको अवसर हो । हलाला हलाल शब्दबाट बनेको छ । हलाला के हो बुझ्न सर्वप्रथम हलाल भनेको के हो भन्ने बुझ्न अति आवश्यक छ । अर्थात् ‘हलाल’ अरबी शब्द हो जसको अर्थ उचित, विहित, निर्धारित, जायज र शरीअते इस्लामको अनुकूल जसलाई ग्रहण या भोग उचित छ र वैध मानिन्छ । पति पत्नीबीच वैधानिक नाता कायम गर्न र गराउन शरियते इस्लाममा निकाह नै एक मात्र हलाल बाटो हो ।

हलाला निकाह

शरियते इस्लाम अनुसार हलाला भने एक प्रकार महादण्ड हो । किन कि हलालाका लागि तलाक पाएकी पत्नीले अर्को पुरुषसँग निकाह गरी जौजियतको हक अदा (पत्नीको दायित्व निर्वाह) गरेको हुनुपर्छ । एक सज्जन र इज्जतदार व्यक्तिको सामु उसको उपस्थितिमा उसकी पत्नी अर्को पुरुषसँग निकाह गर्नु उसको लागि यो निकै लाजमर्दो कुरा र कठिन परिक्षा हो । तलाकपछि हलालाको आदेश नै यही कारणले राखियो जसको डरले गर्दा कसैले आफ्नी पत्नीलाई अनाहक र गैरशराअई कारणले तलाक दिनु पूर्व हजारौं पटक सोच विचार गर्न बाध्य होस् ।

हलाला गर्ने सर्त यसकारण पनि राखियो ता कि तलाकपछि हराम भएकी पत्नीलाई पुनः वैधानिक रुपमा भित्र्याउनका लागि निकाह गरुन् । यसलाई यसरी बुझ्दा सजिलो हुनेछ । हामी सबैले अवश्य नै कुनै न कुनै कारणले कुनै पनि माध्यम जस्तैः बस, रेलगाडी वा हवाईजहाजबाट यात्रा गरेका छौं ।

यात्राका क्रममा कुनै दुर्घटना भयो भने आफ्नो ज्यान जोगाउन आपातकालीन द्वार वा आपातकालीन झ्यालको प्रयोग गर्नुहोला भनी रेलगाडी, हवाईजहाज आदिमा लेखिएको र द्वार खोल्ने उपकरण समेत राखिएको देखेका छौं होला । जति बेला दुर्घटना भयो वा हुने आशंका भयो त्यो आपातकालीन द्वारको प्रयोग गरी बाहिर निस्किन द्वार वा झ्याल भाँचेमा कुनै जरिवाना लाग्दैन र ज्यान पनि जोगिन्छ । तर दुर्घटना नभएको खण्डमा त्यतिकै ख्याल ठट्टामा कसैद्वारा त्यो आपातकालीन द्वार वा झ्याल भाँचिएमा दण्डित गरिन्छ जरिवाना पनि असुल गरिन्छ होइन र ?

त्यसैगरी तलाकको कुरा गर्दा शरियते इस्लामले जब पति र पत्नीबीच सम्बन्ध यति बिग्रिने कि दुबैलाई ज्यानै जाने वा बाँच्नै नसक्ने कि त आफू मरिहाल्ने कि अर्कोलाई मार्दिन सक्ने खतराको अवस्था आयो भने त्यतिबेला तलाकलाई आपातकालीन बाटोको रुपमा प्रयोग गरी एक अर्कासंग छुट्टिन र जोगिन सक्ने प्रावधान राखेर तलाक दिन र लिन आदेश दिएको छ ।

त्यसको लागि तीन पटकमा चरणबद्ध तलाक दिने भनी आदेश छ । तर यदि अल्लाहको आदेश विपरीत कसैले एक साथ तीन तलाक दियो भने उसमाथि उसकी पत्नी हराम भइहाल्छिन् । अब जबसम्म उसको पत्नीले अर्को पुरुषसँग निकाह गर्दैनिन् र उसले तलाक दिँदैन वा छाड्दैन् तबसम्म ऊ आफ्नी साबका पत्नीसँग बस्न सक्दैन् । यो उसको लागि दण्ड हो । जसले हलाल काम मध्येको अल्लाहलाई सबभन्दा मन नपर्ने कार्य आफ्नी पत्नीलाई तलाक दिन्छन् । उनले हलालाको सम्बधमा बुझ्नको लागि हलाल भनेको के हो यो बुझ्न अति आवश्यक छ ।

हलाल एक अरबी शब्द हो, जसको अर्थ हो उचित, विहित, जायज र शरीअते इस्लामको अनुकूल जसलाई ग्रहण या भोग उचित र वैध मानिन्छ । यस्तै समाजमा बसेर आफ्नो वंश बढाउन र एक अर्को आवश्यकता पूरा गर्नका लागि पति पत्नीबीच वैधानिक नाता कायम गर्न र गराउन शरीयते इस्लाममा निकाह नै एक मात्र हलाल बाटो हो । तर तलाकपछि आफ्नी साबका पहिली पत्नीलाई पुनः आफ्नो जीवनमा सामेल गर्न उसकी पत्नीले अर्को पुरुषसँग निकाह गरी जौजियत भन्नाले पत्नीका दायित्व निर्वाह गरेको हुनुपर्छ । यस बारे कुरानापाकमा अल्लाहको आदेश सुरह बक्राको आयत २३०मा प्रष्ट छ ।

अल कुरआन
सुरहः बक्रा आयतः २३०
‘यदि तेस्रो पटक कुनै महिलालाई तलाक दिन्छ भने त्यस पश्चात उसले अर्को पुरुषसँग निकाह नगरेसम्म त्यो उसको लागि हलाल (वैध) हुँदैन् । अतः यदि दोस्रो पतिले उनलाई तलाक दिइन् भने उनीहरु एक अर्कातर्फ फर्के भने यसमा कुनै पाप छैन । यदि तिनीहरू दुबैले विश्वास गर्दछन् कि अल्लाहले सीमितताहरू कायम गर्न सक्नुहुन्छ र यी अल्लाहको (नियुक्त) सीमाहरू हुन् जसलाई ज्ञानीहरुका लागि स्पष्ट बयान गर्दैछ ।

इस्लाममा वास्तविक र असल हलाला

तलाकपछि पत्नी पतिको लागि हराम भइहाल्छिन् यसरी हराम भइसकेकी पत्नीलाई बिना निकाह भित्रियाउन अवैध छ । अब हलाल तरिका (वैधानिक रुप)ले पत्नीलाई भित्र्याउन उसले शरीयतले भने अनुसार अर्को पुरुषसँग निकाह गर्नैपर्ने हुन्छ । इस्लाममा असल तथा वास्तविक हलालाको अर्थ एक तलाकशुदा महिला आफ्नो इच्छा मुताविक बिना सर्त स्वचालित वा अनियोजित रुपमा कुनै अर्को पुरुषसँग निकाह गर्ने ।

त्यसपछि यदि कारणवस ती महिलाको त्यो विवाह सफल हुन सकेन अर्थात् पतिले तलाक दिएमा वा पतिको मृत्यु भइहालेमा त्यस्तो परिस्थितिमा उनले आफ्नो इच्छा अनुसार तब पहिलो पतिसँग निकाह गर्न सक्छिन् । यो हो असल र वास्तविक इस्लामिक हलाला निकाह । यसरी तलाक दिइएकी पत्नीसँग बस्न चाहेमा दोस्रो पतिसँग अलग भइसकेपछि पुनः नयाँ महरका साथ निकाह गरी संगै बस्न सकिन्छ ।