भनिन्छ, ‘संसार आफैमा एक प्रयोगशाला हो, तिमी जति प्रयोग गर्छौ, उत्तिनै सिक्न सक्छौ र उत्कृष्टता हासिल गर्न सक्छौ’ । तर हामीले यो शब्द व्यवहारमा लागू गर्न सकिरहेका छैनौं । जसले गर्दा जीवनमा खुशी भन्दा पनि पीडाबोधको अनुभूति गरिरहेका हुन्छौं ।
यदि हरेक मानिसले जीवनलाई साँच्चै नै सुखी र खुशी बनाउने हो भने र जीवनमा उत्कृष्टता हासिल गर्ने हो भने यो संसारको प्रयोगशालामा कर्म गर्नपछि हट्नु हुँदैन । यदि प्रयोगशालामा कर्म गरेर केही ज्ञान हासिल गरेता पनि त्यसलाई निरन्तरता नदिइ बिचमै छोड्यौं भने हामीले पाउने पर्ने सफलता र पुग्नु पर्ने ठाउँमा पुग्न सक्दैनौं यो नै तपाईं हाम्रो सबै भन्दा ठूलो कमजोरी हुनेछ । त्यसका लागि सबै भन्दा पहिलो कुरा मानिसमा धैर्यता, लगनशीलता, सत्यता र इमान्दारीताको खाँचो पर्दछ ।
यी चार शब्दलाई हाम्रो दैनिक जीवनमा प्रयोग गर्दै संसारमा आफू किन जन्मिएको हो र जन्मी सकेपछि हामी मानवको दायित्व र कर्तव्य के हो ? संसार छाड्दै गर्दा यो धर्तिका लागि के के गर्यौं र के छाड्यौं भन्ने महत्वपूर्ण रहन्छ । त्यसकारण संसारमा जन्म लिएपनि आफू मानिस भएको कर्तव्य निभाउन हामीले कन्जुस्याईं गर्नु हुँदैन ।
ताकि समय यति बलवान छ यदि हामी मानिसले समयलाई पहिचान गर्न नसकी समयमा गर्नुपर्ने सत्कर्म गर्न सकेनौं भने भविष्यमा हामीले धेरै नै चिन्ता र समस्याको जालोमा फस्दै जानेछौं । त्यतिबेला समय हाम्रो साथमा हुने छैन न त त्यतिबेला हाम्रो भौतिक शरीर र मस्तिष्कले नै साथ दिनसक्छ । हामी सबैलाई थाहा भएकै कुरो हो समय नै प्रकृति हो र प्रकृतिको स्वरुप नै भगवान् हो ।
कतिपय मानिसहरुलाई लाग्न सक्छ भौतिक चिज नै सबै थोक हो भनेर । तर त्यो त दुई दिनको मायाजाल मात्रै हो । किन कि आज हामीले निकै नै माया गरिरहेको भौतिक शरीर हाम्रो होइन । किन कि एक दिन संसार छाड्दै गर्दा हामीले प्रेम गरेको आफ्नो सुन्दर शरीरलाई छाडेर हावामा बिलिन हुनुपर्छ । तर हामीसँग सदियौंदेखि हुने भनेको केवल हाम्रो शरीर भित्र अवस्थित हाम्रो आत्मा मात्र हो त्यसकारण बेलैमा हामीले आफू र आफ्नो कतव्र्यलाई पहिचान गर्न सकेनौं भने मानिस भएर जन्मनुको अर्थ छैन ।
मानिसहरुले वास्तविक संसार र मानिस धर्तिमा जन्मनुको सार बुझ्न सक्नुपर्छ । जो मानिसले संसार र मानिसको जीवनको वास्तविक सारलाई बुझ्ने प्रयास गर्दछन् ती मानिसले साच्चै नै जीवनमा केही न केही सत्कर्म गरेर यो धर्तिबाट विदा लिँदा पनि ती मानिसहरुलाई आत्मसन्तुष्ट पक्कै हुनेछ । तर आज हाम्रो समाजमा भौतिक वस्तुको झुण्डमा लिप्त भएर मान्छेले मान्छेलाई पहिचान गर्न समेत भुलिसकेका छन् ।
उनीहरु यतिसम्म भौतिक वस्तुमा डुबिसेका छन् कि म को हुँ भनेर आफूले आफैलाई पनि पहिचान गर्न सकिरहेका छैनन् जसले गर्दा ती मानिसहरुले आउने दिनमा निकै नै कष्टकर अवस्थाको सामना गर्नुपर्ने अवस्था आउन सक्छ । त्यति बेला समय निकै नै ढल्कीसकेको हुन्छ, त्यसकारण मानिसले धर्तिमा जन्म दिँदा म को हुँ ? भन्ने विषयलाई बुझ्नुपर्ने हुन्छ ताकि आउने दिनहरुमा यो संसारमा जीवनयापन गर्दा जीवन जीउन सहज होस् । र अर्को पक्ष मानव प्रकृतिको सबैभन्दा विशेष कृति हो ।
उसले आफ्नो कल्पनाशैलीलाई आफ्नो शक्तिभन्दा अगाडि बढाउन सक्छ । यसकालागि स्वयम मानिस नै क्रियाशीलता र लगलशीलता हुँदै आफू भित्र भएका क्षमता, योग्यता र कृतिहरुलाई बाह्य संसारमा ल्याउन हरदम प्रयास गरिरहनुपर्छ । किन कि हामी सबैलाई थाहा भएको कुरो हो । प्रकृतिले नै मानिसलाई फरक फरक क्षमता र योग्यता दिएर यस धर्तिमा जन्म दिएको छ ।
संसारका हरेक मानिसको अनुहार फरक फरक छन् जसले गर्दा धर्तिमा जन्मेका हरेक मानिसको क्षमता र योग्यता पनि फरक फरक हुन्छन् । भनिन्छ, हरेक मानिस संसारका तारा हुन् । किन कि सबैमा आ आफ्नै क्षमता र कृतिहरु छन् त्यसलाई पहिचान गरी यस ब्रम्हाण्ड र मानव हितका लागि प्रयोग गर्न सक्ने हैसियत मानिस स्वयमले बनाउन सक्नुपर्छ तर यहाँ त मानिसहरु आफ्नो क्षमता, योग्यता भन्दा पनि अरुको रिस र डाहा गर्दै कसरी अरुलाई नराम्रो बनाउन सकिन्छ ? कसरी त्यो भन्दा म माथि जान सक्छु भनेर फोहोर आत्मा लिएर आफूले असल कर्म गर्नुको साटो अरुलाई बिगार्ने तिर लागि परेका छन् ।
त्यसले गर्दा पनि आजभोलिका मानिसहरु क्रुर र खराब तथा हिंसात्मक बाटोतिर लागेर आफू भित्रको क्षमतालाई पहिचान गर्न सकेका छैनन् । यस्तो कार्यतिर लाग्नु ती मानिसहरुलागि दुर्भाग्य हो । छिटो समयको सुख र सयलकोलागि ती मानिसहरुले जीवनमा ठूला ठूला अपराध गरिकन आफ्ना आत्ममा फोहोर मैलो जम्मा गरेका छन् । भौतिक उन्नतीका लागि र आफ्नो स्वार्थ पूरा गर्नका लागि उनीहरुले म को हुँ भन्ने आध्यात्मिक पक्षलाई बिर्सिंदै गइरहेका छन् । यसले गर्दा मानिस हुनुको अस्तित्व कमजोर पार्दै गइरहेको छ ।
मानिसहरु प्रायः सुख आउँदा निकै नै हर्षित हुन्छन् जब जब जीवनमा दुःख पीडा आउँछ तब तब मानिसहरु बिचलित हुन्छन् । यदि मानिसले सुख आउँदा सहज रुपमा आत्मसाथ गर्दै रमाउन सक्छन् भने दुःख आउँदा पनि त्यसलाई सहज रुपमा लिई दुःखका प्रत्येक पाइला पाइलालाई पहिचान गर्दै आफू भित्र भएका कमिकमजोरीलाई सुधार्दै आउने दिनहरुका लागि तम्तयारीमा बस्नुपर्छ । किन कि जब जीवनमा अन्धकार छाउँछ, विचलित नहुनु । किन भने अन्धकारमा नै त तारा देखिन्छ ।
वास्तविक संसार र मानिसको जीवनलाई बुझ्न मानिसको जीवनमा अन्धकार आउन जरुरी छ । जब अन्धकार आउँछ तब मात्र तपाईंले प्रकाशको मार्ग खोज्न अग्रसर हुँदै प्रयासरत गर्नुहुन्छ । जीवनमा अन्धकार आउनु नै आफूले आफूलाई पहिचान गर्ने एक सत्य मार्ग हो र आफ्ना र पराई को–को रहेछन् भन्ने वास्तविकतालाई निकटबाट चिन्ने अवसर हो । त्यसकारण बुढापाकाहरु भन्ने गर्दछन् दुःख आयो भनेर नआत्तिनु, सुख आयो भनेर नमात्तिनु । यी हरफहरुमा पनि गहनता र मार्मिकता छन्, मात्र मानिसले पहिचान गर्न सक्नु पर्छ ।
समग्रमा भन्नुपर्दा हरेक मानिस जीवनमा सफलता भएको हेर्न चाहन्छ । हरेक मानिस जीवनमा सुखी र खुसी भएको हेर्न चाहन्छ तर चाहना भएर मात्र यी कुराहरु पाउन सकिदैन । यसका लागि मानिसले कडा परिश्रम, मेहनत र आफ्नो कर्मप्रति सकारात्मक ढंगले धैर्यताका साथ निरन्तरता दिनुपर्छ । त्यसका साथै मानिसले आध्यात्मिकतामाथि पनि विश्वास गर्नुपर्छ ।
नास्तिकतावादले मानिसलाई समय र प्रकृति विपरित लग्ने काम गर्दछ । जो मानिसमा आध्यात्मिकता र प्रकृतिप्रति विश्वास हुन्छ आउने दिनमा तिनै मानिसको जीवन सुखी खुशी हुने हो । त्यसकारण आफ्नो कर्मप्रति मेहनत गर्दै आफ्नो यात्रा निरन्तर अगाडि बढाउनुपर्छ । जब तपाईं आफ्नो यात्रा निरन्तर बढाउनु हुन्छ तब मात्र एक दिन तपाईंले मेहनत गर्नु भएको लक्ष्य पूरा हुनेछ ।