• मंसिर ११ २०८१, मंगलवार

वरिष्ठ गायक शिशीर योगीको आवाजमा गुञ्जन थाल्यो ‘वैदिक शनि मन्त्र’

श्रावण ३१ २०७९, मंगलवार

काठमाडौँ । आफ्नो समधुर एवम् जादुमय आवाजबाट नेपाली संगीत क्षेत्रका दर्शक तथा स्रोताहरुको मनमा राज गर्न सफल चर्चित गायक तथा संगीतकार शिशीर योगीले हालै भक्तिधाराको वैदिक मन्त्र शनि मन्त्रमा आफ्नो जादुमय कला पस्किएका छन् ।

देशप्रेम, करुण रसका साथै जीवन दर्शनका मार्मिक गीत गाएर नेपाली संगीत आकाशमा छाएका वरिष्ठ गायक योगी हालका दिनहरुमा भक्ति संगीततर्फ समेत देखा पर्न थालेका छन् ।

नेपाली संगीतको दुनियाँमा स्वर सुन्तानको उपनामले चिनिने गायक योगीका ‘सारंगी त रेटे पनि बोल्छ मिठो धुन’, ‘यो देशमा म एउटा मानिस खोजिरहेछु’, आमाले घाँस काट्दै गर्दा भीरमा जन्मेको मान्छे म, बुढेसकालको सन्तानको पिरमा जन्मेको मान्छे म’, बा–आमा, कर्णाली पारी, बोल्ने कोहि छैन लगायतका दर्जनौं सदावहार गीतहरु नेपाली संगीत आकाशमा गुञ्जिरहेका सुनिन्छन् ।

आफ्नो जादुमयी स्वरका कारण मानिसहरुको मनमा बस्न सफल योगी हरेक गीतमा दर्शक तथा स्रोताहरुलाई फरकपनको आभास दिलाउन खोज्छन् । खासगरी उनको गायिकीको मुलभूत विशेषता नै यहि हो ।

गायनको पछिल्लो चरणमा वैदिक आध्यात्म तथा भक्ति संगीतमा उनले आफ्नो ध्यान केन्द्रित गर्न थालेका छन् । हुन त उनी आफ्ना दर्शक तथा स्रोताहरुलाई फरकपन दिनका लागि केहि न केहि गरिरहन चाहने साधक पनि हुन् ।

बलिउडतिर चर्चित गायक गायिकाका आवाजमा भजन र मन्त्रहरु सुनिन थालेको धेरै भइसकेको भएपनि यस्ता संगीतमा शिशीरको आवाजले नेपालीहरुलाई आफ्नो पनको आभास दिने विश्वास गरिएको छ । नेपालमा पनि भक्ति संगीतलाई उचाइमा लिन गायक योगी लागि परेका देखिन्छन् ।

भक्ति संगीतको यस चरणमा योगीले आवाज दिएका गणेश वन्दना, गायत्री मन्त्र, पौराणिक शनि मन्त्र केहि समय पहिले नै सार्वजनिक भइसकेका छन् । हालै उनको आवाजमा वैदिक, तान्त्रिक, बीज र गायत्री मन्त्रको समिश्रण रहेको शनि मन्त्र सार्वजनिक भएको छ ।

सार्वजनिक भएको यस शनि मन्त्रमा योगीका साथमा योगीकै सुपुत्री श्रुती योगी र सलिना विकको आवाज रहेको छ भने यसमा गायक योगी आफैले संगीत सिर्जना गरेका छन् । १०८ पटक गाइएको यस मन्त्रमा नोर्बु शेर्पाले संगीत संयोजन् गरेका छन् ।

यसमा ध्वनी सम्पादन प्रकाश मिश्रले गरेका छन् भने वीरेन्द्र भाट ‘विपिन’ले दृश्य सम्पादन गरेका छन् । सो मन्त्रमा आवश्यक सल्लाह, सुझावका साथै शब्द सम्पादनको कार्य वासुदेव कृष्ण शास्त्रीले गरेका छन् ।

अजय कार्कीले रेकर्ड गरेको सो मन्त्र सुन्ने मानिसको मनभित्र सुटुक्क पसेर आत्ममा करुण स्पर्श गर्नसक्छ । मन्त्रको एनिमेशन भिडियोलाई शिशीर योगीको युटुव च्यानलमा सुन्न र हेर्न सकिन्छ ।
हेरौं भिडियो, सुनौं मन्त्र :