• मंसिर १२ २०८१, बुधबार

कक्षामा पढ्दा पढ्दै विद्यार्थी बेहोस् हुन थालेपछि भयो अचम्म !

श्रावण २५ २०७९, बुधबार

काठमाडौं । बैतडीको तल्लो स्वराडमा विद्यार्थी बेहोस् हुने समस्या आएपछि पठनपाठन प्रभावित भएको छ । मेलौली नगरपालिका–७ स्थित मणिलेक माविमा अध्ययनरत छात्रामा विद्यालयमै बेहोस् हुन थालेपछि पठनपाठन प्रभावित भएको हो ।

विद्यालय आइसकेपछि छात्रा रुने, कराउने, काँप्ने, बेहोस् हुने समस्या देखिएको मणिलेक माविका प्रधानाध्यापक रमेशदत्त बागले जानकारी दिए । गत हप्तादेखि छात्रामा यो समस्या देखिएको जनाइएको छ ।

उनले भने, ‘दैनिक चार-पाँच छात्रामा यो समस्या देखिने गरेको छ । कक्षा ५ देखि १० कक्षा मुनिका छात्रामा बढीजसो यो लक्षण देखिएको छ । १२ देखि १४ उमेर समूहमा छात्रामा बढी समस्या छ ।’

विद्यार्थीमा दैनिक बेहोस् हुने समस्या देखिन थालेपछि पठन पाठनकार्य प्रभावित भएको प्रअ बागको भनाई छ । विद्यालयमा एक र दुई घण्टी पढेपछि उनीहरूमा यो समस्या सुरु हुन्छ । एक छात्रालाई यो समस्या देखिएलगत्तै अरु छात्रामा पनि लगत्तै देखिन्छ ।

छात्रामा देखिएको यो समस्याको बारेमा स्वास्थ्यकर्मी पनि सोधेको उनले बताए । प्रअ बागले भने, ‘हामीले स्वास्थ्यकर्मीलाई पनि समस्याको बारेमा जानकारी गरायौँ । स्वास्थ्यकर्मीकै सल्लाह अनुसार दुई पिरियड मात्रै पठनपाठन गरेर बाँकी समय मनोरञ्जनमा जोड दिएका छौँ ।’

छात्रामा देखिएको यो समस्या मास हिस्टेरिया रहेको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए ।

उनले भने, ‘यो सामान्य खालको बिरामीको लक्षण हुन् । उनीहरुमा भावना उत्पन्न भएर एकबाट अर्कोमा हुने गर्दछ । मनोपरामर्शलाई जोड दिनुपर्छ, सान्तना दिने, मनोबल बढाउने खालका कुरा गर्ने साँस्कृतिक कार्यक्रम गरेर मनोरञ्जन दिन खालका कार्यक्रम गर्नुपर्छ ।’

उक्त विद्यालयमा एक हजार बढी विद्यार्थी अध्ययनरत छन् ।