• मंसिर १२ २०८१, बुधबार

चीन-अमेरिका विवादबीच भारतीय र अमेरिकी विदेशमन्त्रीबीच भेट, के भारत अमेरिकी पक्षमा गएको हो ?

श्रावण १९ २०७९, बिहीबार

काठमाडौं । ताइवानको विषयलाई लिएर अमेरिका र चीनबीच विवाद बढिरहेका बेला अमेरिका र भारतका विदेशमन्त्रीबीच कम्बोडियामा भेटवार्ता भएको छ ।

दक्षिणपूर्वी एसियाली राष्ट्रहरुको संघ (आसियान) को मन्त्रीस्तरीय बैठकका क्रममा उनीहरुका बीचमा बिहीबार भेटवार्ता भएको अधिकारीहरुले जानकारी दिए ।

बैठकमा भाग लिन भारतका विदेश मन्त्री एस जयशंकर, अमेरिकाका विदेश मन्त्री एन्टोनी ब्लिन्केन लगायतका नेताहरु कम्बोडियामा छन् ।

आफूहरुको भेटवार्ता अति नै राम्रो भएको र समसायिक विषयमा सामान्य छलफल भएको दुवै पक्षका अधिकारीहरुले बताएका छन् । अमेरिकी विदेश मन्त्री ब्लिन्केनले यस भेटलाई आफूले राम्रो अवसरका रुपमा लिएको प्रतिक्रिया दिएका छन् । उनीहरुले खुल्ला तथा स्वतन्त्र इन्डोपेसेफिक र श्रीलङ्का सङ्कटका बारेमा पनि छलफल गरेको जनाइएको छ ।

‘मेरो लामो समयदेखिको साथी, भारतका विदेश मन्त्री एस जयशंकरसँग राम्रो भेटवार्ता भयो, हामीले समसामयिक र साझा चासोका विविध विषयमा छलफल गरेका छौँ, सहकार्यलाई बलियो बनाउने बारेमा पनि कुराकानी भयो,’ ब्लिन्केनले भने ।

भारतका विदेश मन्त्री जयशंकर विदेशमन्त्रीका रुपमा १२औँ देशको भ्रमण गर्ने क्रममा बुधबार कोलम्बिया पुगेका हुन् । आसियानमा ब्रुनाई, कम्बोडिया, इन्डोनेसिया, लाओस, मलेसिया, म्यानमार, फिलिपिन्स, सिङ्गापुर, थाइल्याण्ड, भियतनाम लगायतका देशहरु पर्दछन् ।