• मंसिर १२ २०८१, बुधबार

अमेरिकामा बाढीको तान्डव : पच्चीसको मृत्यु, आपतकालीन घोषणा

श्रावण १५ २०७९, आईतवार

एजेन्सी । अमेरिकाको पूर्वी केन्टकी राज्यमा आएको बाढीमा परेर एकै परिवारका चार बालबालिका सहित २५ जनाको मृत्यु भएको छ । बाढीमा परि १२ जनाभन्दा बढी हराइरहेका छन् ।

त्यहाँका केही क्षेत्रहरूमा सहायताकर्मी पुग्नसक्ने अवस्था नरहेको बताउँदै केन्टकीका गभर्नर एण्डी बेसेयरले मृतकको सङ्ख्या बढ्नसक्ने जनाए । बाढीका कारण विद्युत् आपूर्तिमा अवरोध हुँदा शनिबार बिहानसम्म राज्यभरका १६ हजार ग्राहक बिजुलीविहीन रहेका छन् ।

बेशियरले राज्यभर आपत्काल घोषणा गरिएको र उद्धार तथा सहयोगका लागि राष्ट्रिय उद्धार सुरक्षादस्तालाई बोलाइएको बताएका छन् । बाढीले वेस्ट भर्जिनिया र भर्जिनियाका केही भागमा पनि असर गरेको छ । वेस्ट भर्जिनियाका गभर्नर जिम जस्टिसले छ वटा काउन्टीमा आपत्काल घोषणा गरेका छन् ।

पूर्वी केन्टकीका केही क्षेत्रमा आज पनि बाढीको चेतावनी दिइएको छ । मौसम पूर्वानुमान सेवाले उक्त क्षेत्रका नदीनालामा जलसतह बढ्ने भविष्यवाणी गरेको छ ।