• मंसिर ७ २०८१, शुक्रबार

अर्थ मन्त्रालयका कर्मचारीको ‘भागाभाग’ भयो किन ?

असार २३ २०७९, बिहीबार

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माको राजीनामा र सचिव मधु मरासिनीको बिदामा बस्ने निर्णयपछि अर्थ मन्त्रालयका सहसचिवहरूको बुधबार दिनभर ‘भागाभाग’ भएको छ ।

शर्माले राजीनामा दिने विषयमा पत्रकार सम्मेलन गर्ने सूचना प्रवाह गरेपछि त्यसमा उपस्थित हुनुपर्ने भयले कतिपय सहसचिवले मोबाइल बन्द गरे ।

अप्ठेरो र विवादित समयमा जिम्मेवारी लिनुपर्ने डरले केही सहसचिव मन्त्रालय नै गएनन् । उपस्थित भएकाहरू हाजिर गरेर मन्त्रालय छाडे ।

राजस्व सचिव कृष्णहरि पुष्कर विदेशमा रहेकाले तत्कालका लागि मन्त्रालयमा उपलब्ध वरिष्ठ सहसचिवमध्येबाट एक जनाले निमित्त सचिवको काम गर्नुपर्छ । ‘आर्थिक वर्षको अन्त्यतिर भएकाले सचिवको टेबलमा फाइलको चाङ छ ।

निमित्त भएपछि त्यसमा हस्ताक्षर गरेर सबै जिम्मेवारी लिनुपर्छ,’ एक सहसचिले भने, ‘मन्त्रीको पत्रकार सम्मेलनमा बसेर समर्थन गर्न सक्ने अवस्था पनि रहेन ।’ स्रोतका अनुसार मन्त्री शर्माले भने बुधबार साँझ केही सहसचिवलाई फोन गरेर ‘तपाईं पनि भागेको हो ?’ भनेर प्रश्न गरेका थिए ।

मन्त्रीले काम अह्राउने डरले मन्त्रालय आएका माथिल्लो तहका धेरै कर्मचारी दिनभर आफ्नो कोठामै बसेनन् । मन्त्रालयमा सहसचिवको ९ दरबन्दी रहेकामा १० जना कार्यरत छन् । यो समाचार कान्तिपुर दैनिकमा छ ।