काठमाडौं । भौतिक पूर्वाधार निर्माणको काम अन्तिम चरणमा पुगेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको ‘एप्रोच’मा पर्ने पूर्वपट्टिको रिट्ठेपानी डाँडा काट्ने बाटो खुलेको छ । हवाई क्षेत्रको नियमनकारी निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) र वन विभागबीच डाँडा र त्यहाँका रूख काट्न सहमति भएको हो ।
प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार विमानस्थलको धावनमार्गको एप्रोचमा पर्ने पूर्वपट्टिको डाँडा अग्लो हुँदा हवाई उडान र अवतरणमा समस्या आउने भएपछि कटानका लागि प्रक्रिया अघि बढाइएको थियो । विभागसँगको सम्झौतापछि डाँडासहित त्यहाँका ६ सय रूख काट्ने बाटो खुलेको उनले जानकारी दिए ।
‘रूख मात्र काटेर हुँदैन । डाँडाको उचाइ पनि घटाउनुपर्छ । रूखका कारण डाँडा कटान रोकिएको थियो । अब बाटो खुलेको छ,’ उनले भने, ‘वन विभागसँगको सहमतिबिना रूख काट्न नपाउने भएपछि प्रक्रिया लम्बिएको थियो । तर अब सहज हुनेछ ।’
डाँडा र रूख कटानका लागि प्राधिकरणले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको पूरक वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन तयार पारेको थियो। त्यही प्रतिवेदनअनुसार डाँडा काट्न ६ सय रूख काट्ने प्रक्रिया अघि बढाइएको थियो । ‘सहमति जुटेकाले अब टेन्डर प्रक्रिया सुरु हुन्छ । यो समाचार नागरिक दैनिकमा छ ।