जनकपुर । मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले युवाको समुचित व्यवस्थापनका लागि प्रदेश सरकारले छिट्टै युवा परिषद् गठन गर्ने बताएका छन् । मधेस प्रदेश सरकारको महिला, बालबालिका युवा तथा खेलकुद मन्त्रालयको आयोजनामा आजदेखि सुरु भएको प्रथम मधेस प्रदेश युवा महोत्सव २०७९ को उद्घाटनमा मुख्यमन्त्री राउतले युवा परिषद् गठन गर्ने तयारी भइरहेकोे जानकारी दिए ।
“हामीले युवापरिषद् गठन गर्न विगत दुई वर्षदेखि नै प्रयास गरिरहेका छौँ, यससम्बन्धी विधेयक पनि तयार भइसकेको छ”, मुख्यमन्त्री राउतले भने “तर यो विधेयक अहिलेसम्म हाउसमा पठाउन सकिएको छैन, त्यो गएको भए अहिलेसम्म पास भएर काम अघि बढिसकेको हुन्थ्यो तर हामीले गर्न सकेनौँ ।” अब त्यो गठनको प्रक्रिया हामी छिट्टै अघि बढाउँछौँ ।”
विकास र समृद्धिको मूल आधार युवा भएकाले प्रदेशमै रोजगारी सिर्जना गरी युवालाई प्रदेशको विकास र समृद्धिको यात्रामा सहभागी गराउने पहल भइरहेको उल्लेख गर्दै उनले राज्यको गलत नीतिका कारण मुलुकमा उचित रोजगारीको व्यवस्थापन नहुँदा युवा खाडी मुलुकमा जान बाध्य भएको तर्क गरे । सरकार रोजगारी सिर्जना गर्न सकेमात्र बेरोजगारीको समस्या समाधान हुने उल्लेख गर्दै मुख्यमन्त्री राउतले प्रदेश सरकार कृषि, पर्यटन र उद्योगधन्धाका साथै स्वरोजगारका कार्यक्रमलाई समेत प्राथमिकतामा राखेर अघि बढेको बताए ।
“युवा सकारात्मक कदमले मात्र मधेस वा देशको विकास सम्भव छ”, मुख्यमन्त्री राउतले भने, “युवा देशको मूल आधार हो, युवा सही बाटोमा अघि बढे देश पनि सही बाटोमा अघि बढ्छ, युवा गलत बाटोमा गए देश पनि विनाशको बाटो जान्छ ।” युवाले विकासको बाटो डो¥याउन सक्रिय भूमिका निर्वाह गर्ने उनले बताए ।