• बैशाख २३ २०८३, बुधबार

विवादमा तानिएकी स्वास्थ्य राज्यमन्त्री वलीले राजीनामा दिइन्

असार १५ २०७९, बुधबार

दाङ । विवादमा तानिएकी लुम्बिनी प्रदेशकी राज्यमन्त्री विमला वलीले अन्ततः राजीनामा दिएकी छन् । स्वास्थ्य, जनसङ्ख्या तथा परिवार कल्याण राज्यमन्त्री ओलीले मुख्यमन्त्री कुलप्रसाद केसीलाई राजीनामा बुझाएकी हुन् ।

जेठ ३१ दाङका वाईसीएल नेता एकराज बस्नेतको घरमा गएर उनकी श्रीमती र छोरीलाई अभद्र व्यवहार गरेको आरोपपछि उनी विवादमा तानिएकी थिइन् । सो प्रकरणमा उनी प्रहरी नियन्त्रणमा परेकी थिइन् भने पछि बिरामी भएको भन्दै उपचारका लागि बुटवल लगिएको थियो ।

बुटवलमा केही दिन बसेर दाङमा बस्दै आएकी उनले अन्ततः राजीनामा दिएकी माओवादीका लुम्बिनी प्रदेश प्रमुख सचेतक तुलाराम घर्तीमगरले पुष्टि गरे । वलीले सोमबार नै राजीनामा बुझाएको उनको भनाइ छ ।

बस्नेतको घरमा गएर उनकी श्रीमती र छोरीलाई अभद्र व्यवहार गरेको विषयमा प्रदेश सरकारले छानबिन समिति समेत गठन गरेको थियो । छानबिन समितिको प्रतिवेदन आउनु अघिनै उनले राजीनामा दिएकी हुन् ।