• आश्विन ५ २०८१, शनिबार

देश जनताको हितमा बजेट ल्याएकोछु– अर्थमन्त्री शर्मा

असार १३ २०७९, सोमबार

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले देश र जनताको पक्षमा आगामी आर्थिक वर्षको बजेट ल्याएकै कारण विपक्षलाई अनैतिक लाग्दैमा आफूले राजीनामा नदिने स्पष्ट पारेका छन् ।

सोमवार राष्ट्रिय सभामा विनियोजित बजेटका विकासमा सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिँदै अर्थमन्त्री शर्माले आगामी आर्थिक वर्षको बजेट देश र जनताको पक्षमा ल्याएको कारण विपक्ष दललाई अनैतिक लाग्दैमा आफूले राजीनामा नदिने स्पष्ट पारेका हुन् । उनले करका दर परिर्वतन भएको विषयमा आफू र सरकार जवाफदेही र जिम्मेवारसमेत रहेको बताए ।

मन्त्री शर्माले आगामी आर्थिक वर्षको बजेट अर्थमन्त्रीको व्यक्तिगत नभएर प्रतिष्ठित व्यवसायी, अर्थविद्,नागरिक र सबै सांसदहरु सुझावको आधारमा ल्याएको दाबी गरे । उनले बजेट कार्यान्वयन गर्दा आयात प्रतिस्थापन, गरिबी हटाउने र मानव विकास सूचाङ्क वृद्धि गर्ने अंक नै बजेटमा समावेश गरिएको बताए । मन्त्री शर्माले बजेट कार्यान्वयन हुँदा औधोकिकरण,उत्पादन र आयात प्रतिस्थापनमा आउने परिवर्तनले सबै कुरालाई पुष्टि गर्ने दावी लिए ।

अर्थमन्त्री शर्माले करका दर रेट घटाउने र बढाउने विषय अर्थमन्त्रीको क्षेत्र अधिकारको भएको बताए । उनले अर्थमन्त्रीले बजेट नल्याएर,करका दर रेटलाई घटबढ नगरेर अरु के गर्नु पर्ने थियो ? भन्दै प्रश्न गरे । मन्त्री शर्माले आगामी आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रम र बजेटमा आर्थिक समृद्धि, आत्मनिर्भता,गरिब कम गर्ने र व्यवसायीक क्षेत्रलाई प्रोत्साहन गर्नेगरी ल्याउने अर्थमन्त्री अनैतिक नहुने बताए । उनले करका दर रेट घटाउनु र बढाउनु अर्थ मन्त्रालयको मुख्य काम भएको बताए । मन्त्री शर्माले मुलुकको वर्तमान आर्थिक अवस्थालाई हेरेर करका दर घटाउन बढाउन आवश्यक रहेको बताए । अर्थमन्त्रीले करको दर रेट आवश्यकता अनुसार बढाउन र घटाउन दुवै पाइने दाबी गरे ।

अर्थमन्त्री शर्माले बजेट कार्यान्वयन हुँदा सरकारका संरचनालाई सुदृढ गर्ने कानूनहरुलाई राम्रो बनाउने र सँगै आम जनतालाई बजेट तथा कार्यक्रम कार्यान्वयनमा सहभागी गराउने विषय बजेटमा उल्लेख गरे ।