• बैशाख २३ २०८३, बुधबार

एसपीपी: अमेरिकालाई पत्र लेख्ने बारे सरकार अन्यौलमा

असार ११ २०७९, शनिबार

काठमाडौं । मन्त्रिपरिषद् बैठकले गत सोमबार अमेरिकी सेनाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) मा सहभागी नहुने निर्णय गर्यो । सरकारका प्रवक्ता ज्ञानेन्द्र कार्कीलगायत मन्त्रीले एसपीपीमा सहभागी नहुने सरकारको निर्णय लिखित रुपमा अमेरिकालाई जानकारी गराइने बताएका थिए ।

सो बारे अमेरिकालाई जानकारी गराउने/नगराउने बारे भने सरकार अझै अलमलमा रहेको बुझिएको छ । ‘अमेरिकालाई पत्र लेख्ने कि नलेख्ने भन्नेबारे छलफल जारी छ । छलफलमा मन्त्रिपरिषद्ले निर्णय गरेपछि अब त्यसबारेमा अमेरिकालाई पत्र लेख्नुपर्दैन कि भन्ने तर्क पनि आएका छन् । किनकि कार्यकारीका तर्फबाट अन्तिम निर्णय नै मन्त्रिपरिषदबाट हुने हो । अर्कोतिर अमेरिकाले नै यदि एसपीपीमा भाग नलिने भए पत्र लेख्न भनिसकेको अवस्था पनि छ,’ प्रधानमन्त्री कार्यालयका एक अधिकारीले भने ।

एसपीपी अस्वीकार गर्दा भोलीको परिस्थिति के हुने हो भन्ने अन्यौलका कारण जानकारी दिने निर्णय गरे पनि पत्र लेख्न भने सकेको छैन । शनिबारसम्म सरकारले कूटनीतिक माध्यमबाट अमेरिकालाई पत्र पठाएको छैन। बरु पत्राचार गर्न आवश्यक छ कि छैन भन्ने विषयमा सरकार नै अलमलमा परेको छ। परराष्ट्र मन्त्रालयका अधिकारीले अमेरिकालाई पत्राचार गर्ने वा नगर्ने विषयमा प्रधानमन्त्रीको तहबाट शुक्रबार साँझसम्म कुनै निर्देशन नआएको बताए ।