काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रचण्ड इमान्दार नभएकाले नेकपा विभाजन भएको बताएका छन् ।
आज (शुक्रबार) च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रममा बोल्दै उनले बडो दुःखका साथ सफलता हात परेको पार्टीलाई प्रचण्डले इमान्दारिताका साथ काम नगर्दा विभाजन व्यहोर्नुपरेको बताएका हुन् ।
‘प्रचण्डले एकता गर्दा पनि इमान्दारिताका साथ गर्नु भएन, एकताबद्ध रहँदा पनि इमानका साथ काम गर्नु भएन,’ उनले भने, ‘एकताको निम्ति बनाइदिएको कमिटी, एकताको निम्ति दिइएको संख्या त्यसलाई यति चरम दुरुपयोग गर्नु भयो कि पार्टीको अध्यक्षलाई साधारण सदस्यबाट निष्कासन गर्नुभयो ।’
ओलीले चरम सत्ताको दुरुपयोग गरेर स्थानीय तह निर्वाचनमा आफ्नो पार्टी केही पछि परे पनि आगामी दिनमा जित सुनिश्चित रहेको दाबी गरे ।
अध्यक्ष ओलीले आफ्नो पार्टीसँग मात्रै समाजवादको यात्रा तय गर्ने विचार, सङ्गठन र योजना रहेको जिकिर गरे ।