रुपन्देही । गृहमन्त्री बालकृष्ण खाँणले भूमिहीनलाई जग्गा वितरणको कामलाई प्रमुख प्राथमिकतामा राखेर काम अघि बढाउन निर्देशन दिएका छन् ।
जनतालाई सम्पत्तिको मालिक बनाउन भूमिहीनलाई तत्काल जग्गा वितरण गर्न आवश्यक रहेको उल्लेख गर्दै उनले भूमि आयोग र आयोगका जिल्ला पदाधिकारीलाई परिणाममुखी काम गर्न आग्रह गरे ।
राष्ट्रिय भूमि आयोग, काठमाडौँको आयोजनामा बुटवलमा आज भएको जिल्ला समितिका पदाधिकारीका लागि लुम्बिनी प्रदेशस्तरीय गोष्ठीको उद्घाटन गर्दै मन्त्री खाँणले सबै नागरिकलाई घरजग्गाको स्वामित्व दिलाउनु आयोगको पहिलो दायित्व भएको बताए । सरकारले राजनीतिक पूर्वाग्रह राखेर यसअघिको भूमि आयोग खारेज गरेको नभई संविधानले व्यवस्था गरेअनुरुप सबै प्रक्रिया पूरा गरेर भूमि समस्या समाधान गर्न नयाँ आयोग गठन गरेको उनले उल्लेख गरे ।
‘सरकारका तर्फबाट के गर्नुपर्छ, सबै सहयोग गर्न हामी तयार छौँ, तपाइँहरु काम गर्नुस्,’ मन्त्री खाँणले भने ।