एमाले अध्यक्ष केपी शर्मा ओलीले शेरबहादुर देउवा निर्वाचन जितेर कहिल्यै प्रधानमन्त्री नभएको दावी गरेका छन् । शुक्रबार राष्ट्रियसभा गृहमा आफ्नो पार्टीबाट निर्वाचित स्थानीय जनप्रतिनिधिहरूलाई सम्बोधन गर्दै ओलीले देउवा ०५१ सालदेखि नै जालझेल र तिक्डमबाटै प्रधानमन्त्री बन्दै आएको बताएका हुन् । उनले एमालेले ५ वर्ष सरकार चलाउन पाउने हो भने अरु पार्टीले साइनबोर्ड झुन्ड्याउन सक्ने अवस्था समेत नहुने बताए ।
‘एमालेले ५ वर्ष मुलुकको शासन व्यवस्था चलाउन पाउने हो भने अरु कुनैपनि पार्टीले पार्टीको साइनबोर्ड राख्न स्थिति नहुने भो’, ओलीले भने, ‘त्यही भएर मुद्दा मामिला अहिलेको जस्तो ।’
ओलीले भने, ‘शेरबहादुर देउवाले जसरी अहिले प्रधानमन्त्री जितेर ल्याउनुभयो अदालतबाट । ०५२ सालमा पनि उहाँले नै त्यसैगरी जितेर ल्याउनु भएको हो ।’ शेरबहादुर देउवा निर्वाचनबाट जितेर प्रधानमन्त्री नभएको इतिहास रहेको ओलीको भनाइ छ । ‘उहाँ कहिल्यै पनि निर्वाचनबाट प्रधानमन्त्री बन्नु भाछैन । पार्टीभित्रको जालझेल होस् कि देशभित्र वा संसदभित्रको जालझेल वा अदालतको जालझेल र तिक्डमबाट मात्रै हुनुभएको छ’, ओलीको भनाइ छ ।
ओलीले नेकपा एमाले नेपालको एकमात्र नेता रहेको दाबी समेत गरे । ‘हाम्रो देशमा पुँजीवादी शक्ति यसरी कमजोर भएका छन् उनीहरु एक्लै लड्ने सामथ्र्य राख्दैनन् । त्यहीँ भएर कम्युनिस्टको बर्को ओढ्ने, खोल ओढ्ने र विकाउ मालको वैशाखी टेकेर कम्युनिस्ट शक्तिसँग लड्नु परेको छ’, अध्यक्ष ओलीको भनाइ छ । उनले एमाले वामपन्थी कम्युनिस्ट शक्तिहरुमध्ये प्रमुख शक्ति मात्रै नभई हरेक हिसावले देशको प्रमुख राजनीतिक पार्टी रहेको दावी गरे ।
‘अरु पार्टीसँग राष्ट्रियताको, विदेशी सम्वन्ध, वैदेशिक सहायता, ऋण, लगानीको सम्बन्धमा उनीहरुको कुनै नीति छैन । के हो उनीहरुको नीति ? छैन’, ओलीले अरु पार्टीहरुले एमालेको नीतिलाई टिपटाप पार्ने गरेको बताए ।
‘हाम्रो नीतिमा टिका टिप्पणी गर्ने । ह्स्वदीर्घ, फुलिस्टप यता हुनुपर्ने यता भयो भन्ने मात्रै हो । हाम्रो नीतिमा विकल्प दिन सकेका छैनन’, ओलीले भने, ‘कुनैपनि नीति एमाले तय गर्छ, त्यसलाई विकृत व्याख्या गर्ने गरेका छन् । राष्ट्र निर्माणको सोच छैन । हामी तय गर्छौं त्यसका आधारमा तोडमोड गरेर ।’
उनले आफूलाई देशभक्त भएको पुष्टि गर्ने प्रयास पनि गरे । २००७ सालको प्रसंग निकाल्दै ओलीले राणा शासनपछि देशभक्तमाथि थप समस्या आएको जिकिर गरे । ‘राणा शासन फालिएपछि देशभक्तहरू काटिने, देशभक्तहरू मारिने, विदेश पलायन हुनुपर्ने, कोही हिउँमै हराउनुपर्ने यस खालका कुराहरू लोकतन्त्र भनिएको समाजमा भयो’ ओलीले भने, ‘लोकतन्त्रका सञ्चालक कस्ता आए ? कस्तो बिन्दुमा त्यो टुंगियो आन्दोलन ?, भन्दा फेरि पनि देशभक्त काटिने, मारिने, जेल हालिने देशभक्तले जेल तोड्नुपर्ने, फोड्नुपर्ने भाग्नुपर्ने मारिनुपर्ने, बेपत्ता हुनुपर्ने चरम यातना सहनुपर्ने, अंगभंग हुनुपर्ने, त्यहि स्थितिको लोकतन्त्र आयो ।’