काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक एनजीओका अध्यक्षविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।
सरकारी सम्पत्ति हिनामिना गरेको भन्दै अख्तियारले सेफ नेपाल नामक संस्थाका अध्यक्ष रामनरेश राय यादवविरुद्ध विशेष अदालतमा सोमबार मुद्दा दायर गरेको आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए ।
रौतहट जिल्लामा रहेको सेफ नेपाल नामक संस्थाका अध्यक्ष रामनरेश राय यादवले महिला जनचेतना कार्यक्रमको सञ्चालन गर्ने भनी रौतहटको गढिमाई नगरपालिकासँग सम्झौता गरी रकम लिएकामा कार्यक्रम नै नगरी नक्कली बिल भरपाई तयार पारी १ लाख ७२ हजार २४० रुपैयाँ भ्रष्टाचार गरेको अख्तियारको आरोपपत्रमा उल्लेख छ । यादवले सम्झौता र कार्यादेश अनुसारको काम नगरेको र जनचेतना कार्यक्रमका नाममा नक्कली बिल भरपाई बनाएर पेस गरेको अख्तियारले जनाएको छ ।