काठमाडौं–३० जेठ, २०७९ । नेपालको पहिलो एवम् नेतृत्वदायी रेमिटेन्स कम्पनी आइएमईले आफ्नो स्थापनाको २२औँ वर्ष प्रवेशको अवसरमा आइतवार राजधानी काठमाडौँमा विशेष कार्यक्रमको आयोजना गरी मनायो ।
माननीय अर्थमन्त्री जनार्दन शर्माले उद्घाटन गर्नुभएको उक्त कार्यक्रममा नेपाल सरकारका मुख्य सचिव श्रीमान् शंकरदास बैरागी, अर्थ सचिव मधुकुमार मरासिनी, श्रम सचिव एकनारायण अर्याल, नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेल लगायका व्यक्तित्वहरूले विशिष्ट अतिथि वक्ताको रूपमा शुभकामना मन्तब्य व्यक्त गर्नुभएको थियो ।
आइएमई ग्रुपमा अध्यक्ष चन्द्रप्रसाद ढकालको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवाल, नेपाल चेम्बर अफ कमर्शमा पूर्व अध्यक्ष डा. राजेशकाजी श्रेष्ठ, माइग्रेन्ट विज्ञ एवम् राष्ट्रिय योजना आयोगका पूर्वसदस्य डा. गणेश गुरुङ, आइएमई ग्रुपका प्रबन्ध निर्देशक हेमराज ढकाल र आइएमईका संचालक एवम् आइएमई ग्रुपका सिनियर भाइस प्रेसिडेन्ट सुमन पोखरेलले पनि सम्बोधन गर्नुभएको थियो ।
माननीय अर्थमन्त्री जनार्दन शर्माले उद्घाटन गर्नुभएको उक्त औपचारिक कार्यक्रममा आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेलले स्वागत मन्तब्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री जनार्दन शर्माले रेमिटेन्सलाई औपचारिक माध्यमबाट स्वदेश भित्र्याउन खोज्दा हुण्डी कारोबार चलिरहेको थियो भन्दै, थुप्रै चुनौती पार गरेर रेमिटेन्स क्षेत्रलाई यहाँसम्म ल्याइपुर्याउन आइएमईले गरेको योगदानको प्रशंसा गर्दै सफलताको शुभकामना व्यक्त गर्नुभयो ।
सम्बोधनका क्रममा मन्त्री शर्माले रेमिटेन्सले ग्रामिण क्षेत्रको दुःखी जीवनलाई सुखी तुल्याएको बताउनुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै ग्रुपमा अध्यक्ष चन्द्रप्रसाद ढकालले आफैं वैदेशिक रोजगारीमा गएका व्यक्तिले वैदेशिक रोजगारीमै गएका व्यक्तिहरूको सेवाका लागि कम्पनी स्थापना गरी आज ४०-४५ हजारको संख्यामा रोजगारी सिर्जना गरेको जानकारी दिनुभयो ।
एउटा सानो कोठाबाट शुरूवात भएको आइएमईले बिगतमा भोगेका कैयन जोखिम एवम् चुनौतीहरूको स्मरण गर्दै अहिले आइएमई रेमिटेन्सको पर्यायवाची बनेको देख्दा आफु र आफ्नो टीम प्रशन्न रहेको बताउनुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै मुख्य सचिव शंकरदास बैरागीले ज्ञान, सीप र अनुभवले विशेष अर्थ राख्दछ भन्ने कुराको नमुना आइएमई रहेको बताउँदै रेमिटेन्सलाई औपचारिक प्रणालीमार्फत् नेपाल भित्र्याउन थप सहकार्य गर्न सकिने बताउनुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै अर्थ सचिव मधुकुमार मरासिनीले आइएमईले रेमिटेन्स संस्कृतिमा सुधार ल्याएको बताउँदै एउटा आइडियाले संसार बदल्ने सक्ने बताउनुभयो । सम्बोधनका क्रममा वहाँले भन्नुभयो, गाउँगाउँमा आइएमई संस्कृति विकास भएको छ अब यसरी आएको पैसालाई उत्पादनशील क्षेत्रमा रुपान्तरण गर्नु महत्वपूर्ण हुने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै श्रम सचिव एकनारायण अर्यालले पाँच हजार श्रमिक रहेका ठाउँमा आफ्ना सेवाकेन्द्र स्थापना गर्न आइएमई व्यवस्थापनलाई सुझाव दिनुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरूप्रसाद पौडेलले रेमिटेन्ससँग सम्बन्धित विभिन्न डाटा प्रस्तुत गर्दै आइएमई परिवारलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै माइग्रेन्ट विज्ञ एवम् राष्ट्रिय योजना आयोगका पूर्वसदस्य डा.गणेश गुरुङले आफूले आइएमईलाई प्रसव वेनादेखि नै चिन्दै आएको बताउँदै आफू नै डुबेर कंगाल हुन सक्ने अवस्थासम्मको जोखिम मोलेर ढकाल दाजुभाईले आजभन्दा २२ वर्ष अघि आइएमई स्थापना गरेको उल्लेख गर्नुभयो ।
एक प्रसंगमा डा.गुरुङले अफ्रिका लगायतका देशहरूमा रेमिटेन्स सेवाका लागि आइएमईको जस्तै सेवा कपी गरिएको जानकारी दिँदै ढकाल दाजुभाई र वहाँहरुले नेतृत्व गरिरहेको आइएमई ‘फादर अफ रेमिटेन्स’ भएको बताउनुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल चेम्बर अफ कमर्शका पूर्वअध्यक्ष डा.राजेशकाजी श्रेष्ठले आजभन्दा २२ वर्षअघि आइएमईको उद्घाटन कार्यक्रममा आफू जान आनाकानी गरेको स्मरण अहिले आइएमईको यो फैलिँदै यो स्वरूप देखेर आफूलाई खुशी लागेको बताउनुभयो ।
नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले सन् १९९४ मा क्षेत्रपाटीमा एउटा सानो ग्रोसरी संचालन गरेको व्यक्ति तीन दशक नपुग्दै यो अवस्थामा आइपुग्नु उद्यमशीलताको एक विशिष्ट नमूना भएको बताउनुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै आइएमई ग्रुपका सहसंस्थापक एवम् प्रबन्ध निर्देशक हेमराज ढकालले अवसरको खोजीमा नेपाली यूवा विदेशिन थालेसँगै उनीहरुले रगत र पसिना बगाएर आर्जन गरेको रकम सुरक्षित तवरले आफन्तको हातसम्म पुर्याउन एउटा माध्यम चाहिएको थियो । आफ्नो दुःखले आर्जित रकमसँग मान्छेको सपना गाँसिएको हुन्छ, खुसी जोडिएको हुन्छ ।
त्यही सपनालाई वास्तविकतामा परिणत गर्न, खुसीलाई यथार्थमा बदल्न र विश्वासलाई सार्थक तुल्याउन आजभन्दा २२ वर्ष अघि आजकै दिन आइएमईको जन्म भएको बताउनुभयो । त्यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै आइएमईका संचालक एवम् आइएमई ग्रुपका सिनियर भाइस प्रेसिडेन्ट सुमन पोखरेलले मुलुकका खासखास अप्ठ्याराहरूमा आइएमईले आफ्नो सेवालाई प्रभावकारी ढंगले संचालन गरेको सम्मान स्वरूप एउटा भरपर्दो ब्राण्डको रूपमा स्थापित भएको बताउनुभयो ।
त्यस्तै कार्यक्रमलाई स्वागत मन्तब्य व्यक्त गर्दै आइएमईका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेलले आइएमईले २१औं वर्ष पुरा गर्दैगर्दा धेरै क्षेत्रमा सम्बन्ध स्थापित गर्ने अवसर आइएमईले प्राप्त गरेकाले विदेशमा श्रम गरेर नेपालमा रेमिटेन्स पठाउने आमसेवाग्राहीहरू, व्यवसायिक साझेदार , नियामक निकाय नेपाल राष्ट्र बैंक, हाम्रा सेवा तथा उत्पादनलाई सुसूचित गराइदिने मिडिया सबैसँगको सम्बन्धलाई अझ विस्तार गर्दै आगामी दिनमा झनै परिष्कृत, सरल, प्रविधियुक्त, सुरक्षित र भरपर्दो रेमिटेन्स सेवा प्रवाह गर्नका लागि प्रतिवद्ध रहेको बताउँदै २२औं वार्षिकोत्सव सम्बन्धको भन्ने मुख्य थीममा आधारित रहेर यो वर्षभरी हामीले हाम्रा कार्यक्रमहरूलाई अगाडी बढाउने बताउनुभयो ।