• बैशाख २८ २०८३, सोमबार

अश्लील भिडियो बनाएर ५० लाख बार्गेनिङ गर्ने पक्राउ

जेष्ठ २७ २०७९, शुक्रबार

पोखरा । एक महिलाको अश्लील भिडियो बनाएर ५० लाख बार्गेनिङ गर्ने पक्राउ परेका छन् ।

गत बैशाख २६ गते । एक महिलाको अश्लील भिडियो बनाएर चरित्र हत्या गर्ने धम्की दिएका बाजुरा बडीमालिका ७ का २७ वर्षीय शान्तराज तिमिल्सेनालाई प्रहरीको टोलीले पक्राउ गरेको छ ।

सामाजिक सञ्जालमा अश्लील भिडियो हालिदिने उनको धम्की थियो । भिडियो डिलिट गर्न ति महिलाले पटक पटक आग्रह गरिन् । मानेनन् । उनले भिडियो हटाउने भए ५० लाख दिन भने । पीडित महिलाले ३ लाख रुपैयाँ दिइन् । बाँकी रकम पनि मागिरहे ।

पटक–पटक धम्की दिएपछि महिलाले कास्की प्रहरीमा उजुरी दिइन् । प्रहरीले अनुसन्धान सुरु गर्‍यो । अन्ततः कैलाली प्रहरीको समन्वयमा कास्की प्रहरीको टोलीले पक्राउ गर्‍यो ।

‘लुकिछिपी भिडियो बनाएर बार्गेनिङ गरेको सूचना आयो,’ कास्की प्रहरीका निमित्त प्रबक्ता ज्ञानबहादुर खड्काले भने, ‘सोही उजुरीका आधारमा पक्राउ गरिएको हो । हामी अनुसन्धान गरिरहेका छौं ।’

उनलाई आपराधिक विश्वासघात मुद्दामा जिल्ला अदालत कास्कीबाट म्याद थप गरी अनुसन्धान अघि बढाइएको खड्काले जानकारी दिए ।

उनले अरुलाई पनि त्यस्तो गरे/नगरेको भने खुलेको छैन ।