• बैशाख २८ २०८३, सोमबार

गृह मन्त्रालयका हाकिमका पत्नीहरुले मिटरब्याजी पैसा असुल्ने धन्दा गर्छन् : सांसद सुवाल

जेष्ठ २७ २०७९, शुक्रबार

काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले गृह मन्त्रालयका हाकिमका पत्नीहरु नै मिटर ब्याज असुलीमा संलग्न रहेको र नक्कली सुराकी बनाएर कमिशन लिइरहेको आरोप लगाएका छन् ।

शुक्रबार प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयक २०७९ अन्तरगतको विभिन्न शीर्षकमाथि खर्च कटौतीको प्रस्ताव पेश गर्दै सांसद सुवालले यस्तो आरोप लगाएका हुन् ।

उनले कतिपय पदाधिकारीहरुले स्वकीय सचिव र भान्सेसमेत आफन्त राखेर मिटर ब्याजीको रकम गोजीमा राखेको पनि विभिन्न समाचारमाध्याममा आइरहेको भन्दै आपत्ति जनाए ।

सांसद सुवालले मिटर ब्याज नियन्त्रण गर्ने सरकारको बजेट वक्तव्यमा उल्लेख भएपनि कानुन हातमा लिन सक्नेहरु नै यसको नियन्त्रणमा बाधक देखिएको दावी गरे ।

उनले भने, ‘बजेट वक्तव्यमा मिटर व्याज नियन्त्रण गर्ने उल्लेख छ । तर गृह प्रशासनका हाकिमहरूका श्रीमती, आफन्त र सल्लाहकारहरु मिटर ब्याजमा संलग्न भएको र नक्कली सुराकी बनाएर कमिशन लिइरहेको कतिपय पदाधिकारीहरुले आफन्तहरूलाई नै स्वकीय सचिव र भान्से राखेर रकम गोजीमा राखेको समाचार पनि छ । यस्ता गलत काम त कानुन हात लिन सक्नेहरुले गरेको देखियो नि ।’

सांसद सुवालले मुलुकलाई ऋणमा डुबाउने गरी सरकारले आगामी आर्थिक वर्षको बजेट ल्याएको पनि दोहोर्याए ।