काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साह र फ्रान्सका राजदूत जील बुर्बाओबीच शिष्टाचार भेटवार्ता भएको छ ।
प्रमुख बालेनको कार्यकक्षमा भएको भेटका क्रममा नगर व्यवस्थापनका लागि सेवा र सुविधा वितरणका मुख्य विषयमा कुराकानी भएको थियो ।
‘हामी अहिले बजेट नीति तथा कार्यक्रमको तयारीमा छौँ। फोहोरमैलाको दिगो व्यवस्थापन, स्वास्थ्य, शिक्षा र सामाजिक क्षेत्रसँगै सहरी यातायातको सुधार, सांस्कृतिक तथा प्राचीन सम्पत्तिको सम्मान, संरक्षण तथा प्रवर्द्धनलगायतका क्षेत्रलाई हामीले प्राथमिकतामा राखेका छौँ।’ प्रमुख साहले भने, ‘विकासको आगामी दिशा प्रक्षेपण अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजनाबाट भविष्यका कार्यक्रमसमेत तय गर्ने प्रणाली विकास गर्दैछौँ।’
यस्तै राजदूत बुर्बाओले सहरी विकास र व्यवस्थापनका लागि दिगो आर्थिक प्रस्तावका आधारमा काठमाडौंलाई सहयोग गर्न आफूहरु इच्छुक रहेको बताए।
‘फोहोरमैला व्यवस्थापन, पानीको प्रशोधन तथा शुद्धीकरण, स्वास्थ्य र शिक्षामा हाम्रो सहयोग हुन सक्छ।’ राजदूत बुर्बाओले भने।