• बैशाख २८ २०८३, सोमबार

स्थानीयले फोहोर फाल्न नदिएपछि काठमाडौंतिरै फर्किए फोहोर बोकेका टिपरहरु

जेष्ठ २५ २०७९, बुधबार

काठमाडौं । काठमाडौंबाट फोहोर लिएर बञ्चरेडाँडा तिर गएका गएका टिपरहरू फर्किएका छन् । बुधबार स्थानीयले अवरोध गरेपछि प्रहरी नै परिचालन गरी बञ्चरेडाँडामा फोहोरको टिपर लगिएको थियो तर स्थानीयले लगातार अवरोध पुर्याएपछि फोहोरको टिपर फर्किएका हुन् ।

अहिले फोहोर फाल्ने टिपरहरू फर्किएको संघर्ष समितिका संयोजक श्रीराम ढुंगानाले जानकारी दिए । उनका अनुसार प्रहरीले तीन सेल अश्रुग्यास पनि प्रहार गरेको छ । यस्तै, प्रहरीले आठ जनालाई नियन्त्रणमा लिएको उनले दाबी गरे ।
‘फोहोर बोकेको गाडी फर्किएको छ । प्रहरीले आठ जनालाई नियन्त्रणमा लिएको छ,’ उनले भने, ‘प्रहरी पनि परिचालन गरिएको छ ।’

यता प्रहरीले भने चार जनालाई नियन्त्रणमा लिएको बताएको छ । बुधबार बञ्चरेडाँडामा फोहोर फाल्नको लागि काठमाडौंबाट दुई सय बढी प्रहरी खटिएका छन् । त्यस्तै सशस्त्र प्रहरी पनि परिचालन गरिएको छ ।

स्थानीयले पनि प्रहरीमाथि ढुंगामुढा गरेका छन् । यस्तै स्थानीयहरू बञ्चरेडाँडामा कुनै हालतमा फोहोर फाल्न नदिने पक्षमा रहेको ढुंगानाले बताए ।

‘हामी सबै यहाँ डाँडामै छौं । पक्राउ परेकाहरू वृद्ध, अशक्तहरू हुन् । उनीहरूलाई प्रहरीले घरबाट लगेको छ,’ उनले भने,‘हामी यहाँ फोहोर फाल्न दिन्नौं । ३६५ दिन नै यहाँ बस्छौं ।’

बञ्चरेडाँडामा खटिएका एक प्रहरीका अनुसार फोहोर बोकेका गाडी चालकहरू आफैं फर्किन लागेका हुन् । ‘गाडीमा क्षति पुग्छ भन्ने हिसाबले उनीहरू फर्किन लागेका हुन्,’ ती प्रहरीले भने ।