• बैशाख २८ २०८३, सोमबार

फर्पिङको जंगलमा मृत भेटिएकी विमलाले भनेकी थिइन्,‘मैले विहे गरिसकेँ’

जेष्ठ २५ २०७९, बुधबार

काठमाडौं । फर्पिङको जंगलमा जेठ २३ मा एक जोडी मृत भेटिए । दक्षिणकाली नगरपालिका–५ स्थित शेषनारायण जंगलमा दाङको राप्ती गाउँपालिका घर भएकी १९ वर्षकी विमला कुमाल र मकवानपुर घर भएका मनिष ठकुरी मृत भेटिएका हुन् ।

मकवानपुरको इन्द्रसरोवर घर भएका मनिष डोजर अपरेटरका सहयोगी हुन् । विमला मजदुरी गर्थिन् । सडकमा नाला बनाउने मिस्त्रीको सहयोगी विमला दक्षिणकालीमा बस्थिन् ।

शव नजिकै विषको बट्टा भेटिएको हुनाले उनीहरुले विष खाएर आत्महत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ । तर, पोष्टमार्टम रिपोर्ट आएको छैन ।

विमलाले एक साताअघि परिवारलाई आफूले विवाह गरेको बताएकी थिइन् । अनुसन्धानमा संलग्न एकजना प्रहरी अधिकृतले भने– ‘विमलाले एक हप्ताअघि विवाह गरेको परिवारलाई भनेकी छन्, तर, पतिसँग चिनजान गराएकी थिइनन् ।’

उनीहरुको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा राखिएको छ । एकैठाउँमा मृत भेटिएका जोडीको शरीरमा निलडाम छैन ।

विष खाएको बारे यकिन गर्न विधि विज्ञान प्रयोगशालामा भि–सेरा परीक्षण गरिने जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।