काठमाडौं । काठमाडौंबाट फोहोर बोकेर गएका गाडीलाई स्थानीय बासिन्दाले फेरी बीच बाटोमै रोकेका छन् । उनीहरुले यहाँका बासिन्दासँग समन्वय नगरी फोहोर विसर्जन गर्न खोजेको भन्दै गाडी रोकेका हुन् ।
फोहोर विसर्जन गर्न नदिइएको संघर्ष समितिका संयोजक श्रीराम ढुंगानाले बताए । उनी भन्छन्, ‘स्थानीयले गाडी रोकेका छन् । हिजो जस्तै आज पनि प्रहरी बल प्रयोग गरेर काठमाडौं महानगर अगाडि कसरी बढ्छ त्यसैमा निर्भर रहन्छ ।’
सोमबार काठमाडौं महानगर, सहरी मन्त्रालय र काठमाडौं, धादिङ र नुवाकोटका जनप्रतिनिधिबीच सहमति भएपछि फोहोर उठाउन थाले पनि विसर्जन गर्ने स्थानमा स्थानीय बासिन्दाले अवरोध गर्दै आएका छन् ।
मंगलबार प्रहरीले बल प्रयोग गरेर फोहोर विसर्जन गरेको थियो ।